पहिला ब्याटिङ गर्दै नामिबियाले नेदरल्यान्ड्सलाई हरायाे

23 Feb, 2024

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा नामिबियाले तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो।

जारी सिरिजमा पहिला ब्याटिङ गर्ने टिम विजयी भएको यो पहिलो खेल हो। यसअघिका चार खेलमा दोस्रो ब्याटिङ गर्ने टिम हावी भएका थिए। नामिबियाले नेपाललाई दुवै खेलमा हराएको थियो।

बिहीबार राति परेको वर्षाका कारण मैदान भिजेपछि खेल करिब १ घण्टा ढिलो सुरु भएको थियो भने खेल ४५ ओभरमा झारिएको थियो। नामिबियाले दिएको २०४ रनको मध्यम लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो।

उसका लागि नोह क्रोसले ५६ बलमा ३ चौका मद्दतमा ४६ रन बनाउँदा ओपनर म्याक्स ओ’डवडले ६४ बलमा १ छक्का र ४ चौका मद्दतमा ४१ रन बनाए । यस्तै, बास डे लिडले ४४ बलमा २४ रन बनाउँदा सारिज अहमदले २९ बलमा १९ रनको योगदान दिए।

नेदरल्यान्ड्सलाई जित दिलाउने क्रममा जान फ्रायलिंक र कप्तान जेरहार्ड इरास्मसले समान ३ विकेट लिँदा बर्नार्ड स्कोल्ट्जले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा अलआउट हुँदै २०३ रन बनाएको थियो। यो जारी सिरिजमा पहिला ब्याटिङ गर्ने टिमले बनाएको सर्वाधिक स्कोर हो।

नामिबियाका लागि जान निकोल लफ्टिइ इटोनले ४३ बलमा ६ चौका र २ छक्का मद्दतमा ४९ रन बनाए । यस्तै, मलान क्रुगरले ३९, ज्याक फ्राइलिंकले ३४, रुबेन त्रुमपेलमनले २३ र जान ग्रीनले २२ को योगदान दिए।

बलिङमा नेदरल्यान्ड्सका भिभिअन किंग्माले ३ तथा आर्यन दत्त र रोइलोफ भान डेर मर्वीले समान २ विकेट लिए।

सिरिजको अन्तिम खेलमा अब आइतबार नेपाल र नेदरल्यान्ड्स भीड्ने छन्।