अहिले वेस्टइन्डिज क्रिकेट निरन्तर ओरालो यात्रामा छ। टेस्ट र एकदिवसीयमा लामो समयदेखि खबर प्रदर्शन गर्दै आएको वेस्टइन्डिजले अहिले टि–२० क्रिकेटमा खराब प्रदर्शन गरिरहेको छ।
२ पटकको विश्वच्याम्पियन वेस्टइन्डिज टि–२० क्रिकेटमा सधंैं बलियो मानिँदै आए पनि अहिले निकै खराब अवस्थामा छ। उसले टि–२० क्रिकेटमा लागतार ६ हारको सामाना गरेको छ। यस्तै, उसले पछिल्ला १९ टि–२० खेल मध्ये २ खेल मात्र जितेको छ।
पाकिस्तान भ्रमणमा रहेको वेस्टइन्डिज बिहीबार राति भएको ३ खेलको सिरिजको पहिलो खेलमा १४ रनले पराजित भयो।
यो उसको लागतार छैठौं हार हो। यसअघि घरमै भएको अस्ट्रेलियाविरुद्धको ५ खेलको सिरिज उसले ५–०ले गुमाएको थियो।
यो वेस्टइन्डिजको सबैभन्दा लामो हारको श्रृंखला हो। उसले यसअघि सन् २०१९ को मार्चदेखि अगस्तसम्म तथा सन् २०२४ डिसेम्बरदेखि सन् २०२५को जुनसम्म पनि लगातार ६ खेल हारेको थियो।
बिहीबार राति लाउडेरहिलमा भएको खेलमा १७९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ७ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो। उसका दुवै ओपनरले समान ३५ रन बनाए पनि मध्यक्रम चल्न सकेन। लोअर अर्डरमा जासन होल्डरले १२ बलमा २० र समार जोसेफ ले १२ बलमा २१ रन बनाउँदै टिमलाई जित नजिक लगेका थिए।
बलिङमा पाकिस्तानका मोहम्मद नवाजले ३ तथा सइम अयुबले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा १७८ रन बनायो। उसका अयुबले ३८ बलमा ५ चौका र २ छक्का मद्दतमा ५७ रन बनाए। यस्तै, फखर जमानले २८ र हसन नाजले २४ रन बनाए।
बलिङमा वेस्टइन्डिजका समार जोसेफले ३ विकेट लिँदा जासन होल्डर, अकिल हुसेन र रोमारियो सेफर्डले समान १ विकेट लिए।
