बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत महिला एसिया कपको फाइनलमा

26 Jul, 2024

सात पटकको च्याम्पियन भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो। ८१ रनको जवाफमा भारतीय ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै नवौं पटक महिला एसिया कपको फाइनलमा पुगे।

बंगलादेशकी कप्तान निगार सुल्तानाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। बंगलादेशलाई सुरुदेखि नै भारतीय बलरले ठूलो धक्का दिएका थिए। फास्ट बलर रेनुका सिंह ठाकुरले बंगलादेशको टप अर्डरलाई लगातार प्याभिलियन पठाए र टोलीको स्कोर २१÷३ मा पुर्याइन्।

त्यसपछि भारतीय स्पिनरहरूले आफ्नो क्षमता देखाउँदै बंगलादेशी ब्याट्सम्यानलाई हावी हुन दिएनन्। आफ्नो टोलीका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन्।

भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १–१ विकेट लिए।

भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो। ओपनिङमा आएका स्मृति मन्धाना र शेफाली वर्माले ११ ओभरमा लक्ष्य पूरा गर्दै बंगलादेशसँगको ६ वर्ष पुरानो हिसाब बराबर गरिन्।

एसिया कप २०१८ को फाइनलमा बंगलादेशले भारतीय टोलीलाई हराएको थियो। यस्तो अवस्थामा आज एशिया कपको नकआउट खेलमा बंगलादेशलाई हराउँदै भारतीय टोलीले हिसाब बराबरी गरेको हो।

भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन्।

दोस्रो सेमिफाइनल खेल आज आयोजक श्रीलंका र पाकिस्तानबीच हुनेछ ।