स्पेनिस क्लब रियल मड्रिडमा १३ वर्ष बिताएका क्रोएसियन भेट्रान मिडफिल्डर लुका मोड्रिच इटालियन क्लब एसी मिलाना आबद्ध भएका छन्।
३९ वर्षीय मोड्रिच फ्रि ट्रान्सफरमा एसी मिलानमा आबद्ध भएका छन्। उनले एसी मिलानसँग १ वर्षको सम्झौता गरेका छन् भने थप एक वर्ष सम्झौता नवीकरण सुविधा पनि उनलाई छ।
अब मोड्रिचले एसी मिलानमा १४ नम्बरको जर्सी लगाउने छन्। उनले रियलका लागि अन्तिम खेल केही दिनअघि मात्र क्लब विश्वकपको सेमिफाइनलमा पिएसजीविरुद्ध खेलेका थिए।
मोड्रिचको सान सिरो आगमनपछि क्लबका समर्थकहरुमा उत्साह छाएको छ।
मोड्रिचले रियलमा १३ वर्ष बिताउँदा २८ ठूला उपाधि जितेका छन्। जसमा ६ च्याम्पियन्स लिग, ४ ला लिगा र ५क्लब विश्वकप समावेश छन्। रियलमा ५९७ खेल खेलेर ४३ गोल गरेका मोड्रिचले २०१८ मा बलोन डी’ओर जित्दै मेसी र रोनाल्डोको प्रभुत्व तोडेका थिए।
मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले मोड्रिच असाधारण खेलाडी भएको बताएका छन्। ‘मोड्रिच एउटा असाधारण खेलाडी हुन्, र उनको अनुभवले हामीलाई सिरि ए र युरोपमा फर्कन मद्दत गर्नेछ,’ उनले भने।
यो सम्झौता मोड्रिचको २०२६ विश्वकप तयारीको हिस्सा हो, जुन उनी नियमित खेल खेलेर पुग्ने लक्ष्य राखेका छन्। मिलानले गत सिजन सिरि एमा आठौँ स्थानमा रहँदै युरोपेली फुटबल गुमाएको थियो।
एसी मिलानसँगको सम्झौता हस्ताक्षर गरेपछि मोड्रिचले आफू मिलानम नयाँ अध्यया सुरु गर्न पाउँदा निकै खुसी भएको बताए। सम्भवतः मोड्रिचले अगस्त १७मा हुने इटालियनमा कपमा एसी मिलानमा लागि डेब्यू गर्ने छन्। मोड्रिचको म्याजिक हेर्न समर्थक लालायित छन्।
