२४औं आहारारा पोखरा गोल्डकपको फाइनल आज हुँदै छ।
पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुने फाइनलमा उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स भीड्दैछन्।
पुलिस ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो।
ब्ल्याक बुल्स शनिबार पोखरा रंगशालामा ६ पल्टको च्याम्पियन पुलिसलाई हराएर उपाधि उचाल्ने दाउमा छ । यता, पुलिसले आहा राराको सातौं उपाधिको खोजीमा हुनेछ।
प्रतियोगिताको २४ औं संस्करणमा पुलिसले ३ खेलमा विपक्षीलाई हराउने क्रममा ४ गोल गरेको छ । ब्ल्याक बुल्सले भने २ खेलमै ७ गोल पुर्याएको छ । पुलिसले उद्घाटन खेलमा आयोजक सहारालाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज यूकेलाई २–० र सेमिफाइनलमा
‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराएको थियो । सिधैं क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई ३–० र पाँचपल्टको च्याम्पियन थ्रीस्टारलाई ४–० ले पराजित गरेको थियो । दुवै टिमले प्रतियोगितामा गोल खाएका छैनन्।
पुलिसका प्रशिक्षक चेतन घिमिरे ब्ल्याक बुल्स शारीरिक र प्राविधिक रूपमा राम्रो टिम रहे पनि फाइनलमा जुध्न आफूहरू मानसिक तयार भएको बताउँछन् । शुक्रबार प्रि म्याच कन्फेरेन्समा उनले पछिल्लो ९ महिना पुलिसले एकसाथ प्रशिक्षण गरेको फाइदा पुलिसलाई रहेको बताए ।
एएफसी च्याम्पियन्स लिग खेलेको उज्वेकिस्तानको फुटबल क्लब नाभबाहोर नामानगान एफसीको दोस्रो रोजाइका खेलाडी सम्मिलित टिम हो, ब्ल्याक बुल् । यो टिममा नाभबाहेरबाटै खेलेका अलिजोन अलिजोनोभ पनि सामेल छन् । राष्ट्रिय टोलीबाट खेलेका अन्य तीन खेलाडी समावेश छन् ।
नेपाल आएर जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका अब्दुलाजिज निसोनबाएभ यसपल्ट ब्ल्याक बुल्समा प्रशिक्षक भएर आएका छन्।