पोर्चुगिच सुपर स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपछि एएफसी च्याम्पियन्स लिगमा अल नासर विजयी भएको छ।
सोमबार राति भएको खेलमा रोनाल्डोले २ गोल गरेको खेलमा अल नासरले अल वासलमाथि ४-०को जित निकाल्यो। खेलमा रोनाल्डोसँगै अली अलहसन र मोहम्मद अल फतिलले गोल गरे।
२५औं मिनेटमा अलहसनको गोलमा अल नासरले अग्रता लियो। त्यसपछि ४४औं मिनेटमा पेनाल्टीमा रोनाल्डोले गोल गर्दै अल नासरको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २ गोल गरेको अल नासरले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। ७८औं मिनेटमा रोनाल्डोले गोल गरेपछि अल नासर सहज जित तर्फ अग्रसर भयो। ८८औं मिनेटमा फातिलले गोल गरेपछि अल नासर ४-०ले विजयी भयो।
यो जितसँगै अलनासर ७ खेलमा ५ जित र १ बराबरीसहित १६ अंक जोड्दै तोस्रो स्थानमा छ। ७ खेलमै १९ अंकसहित अल अहिल शीर्ष स्थानमा छ भने १ खेल कम खेलेको अल हिलाल १६ अंकसहित दोस्रो स्थानमा छ।