१ करोड भ्रष्टाचार गरेको भन्दै एन्फाविरुद्ध अख्तियारमा उजुरी

8 May, 2024

अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

गोरखा फुटबल सङ्घका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार निवेदन दिएका हुन्।

‘एन्फामा भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ठा नै नाघेको छ। विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरीत कामको सीमा नै छैन,’ निवदेनमा भनिएको छ।

उनले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले एन्फालाई करिब १ करोड हाराहारी हानी नोक्सानी पुर्‍याएको दाबी गरेका छन्।

निवेदनमा कार्यसमिति वैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्था सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले दिएको नीति निर्देशन समेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारीहरू बहराइन भ्रमण गराई संघलाई हानी नोक्सानी गरेको उल्लेख छ।