अञ्जन विष्ट नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर हुन्। ११ वर्षदेखि नेपाली राष्ट्रिय टिमको सदस्य रहँदै आएका २७ वर्षीय अञ्जन अहिले पनि नेपाली टिमको मुख्य स्ट्राइकर हुन्।
नेपाली राष्ट्रिय टिमले आज दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल्दैछ। दुई वर्षपछि घरेलु मैदानमा नेपाली टिम उत्रँदा सबैको नजर उनै अञ्जना हुनेछन्।
अञ्जन नेपाली राष्ट्रिय टिमको सबैभन्दा सफल स्ट्राइर भन्ने संघारमा छन्। आज ५ः३० बजे सुरु हुने खेलमा गोल गर्न सके उनी राष्ट्रिय टिममा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन्।
त्यस्तो भए उनीसँगै दुई वर्षपछि दशरथ रंगशाला फर्किएका नेपाली दर्शकका लागि पनि खुसीको कुरा हुनेछ।
अञ्जन अहिले हरि खड्का र निराजय रायमाझीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा छन्। तीनै जनाले समान १३ गोल गरेका छन्। सन् २०१४को अक्टोबरमा भएको फिलिपिन्सविरुद्धको खेलमा ६१औं मिनेटमा सन्दीप राईले रिप्लेस गर्दै उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए। त्यसयता उनले नेपालबाट ६० खेल खेलिसकेका छन्।
तर, पछिल्लो समय खराब फर्ममा रहेकाले उनले आज गोल गर्नेमा कतिपयले शंका गरेका छन्। सन् २०२३ मा अक्टोबमा भएको विश्वकप छनोटमा लाओसविरुद्ध गोल गरेयता अञ्जनले राष्ट्रिय टिमबाट गोल गर्न सकेका छैनन। त्यसयता नेपालका लागि १३ खेलमा उनी गोल गर्न असफल छन्।
उनले सन् २०२२ मा दशरथ रंगशालामै भएको बंगलादेशविरुद्धकै खेलमा ह्याट्रिक गरेका थिए। अहिले फेरि त्यही बंगलादेश प्रतिद्वन्द्वी छ, र अञ्जनलाई कीर्तिमान बनाउने अवसर। अञ्जन पनि यसलाई नेपालका लागि गोल गर्ने वेस्ट समय भएको बाउँछन्।
‘म खासै गोलमा प्रेसर राख्ने मान्छे होइन। तर धेरै समय भयो नेपालबाट गोल नहानेको । मेरो विचारमा यो बेस्ट समय हो जस्तो लाग्छ,’ उनले भने।
नेपालमा नियमति लिग नहुँदा खेलाडीहरुलाई समस्या भइरहेको उनी बताउँछन्। ‘ए डिभिजन लिग नभएर, नियमित फुटबल नभएर राष्ट्रिय टोलीलाई एकदम गाह्रो भइरहेको छ,’ अन्जन भन्छन।
के आज हुने खेलमा गोल गर्दै अञ्जनलले कीर्तिमान बनाउँदै नेपाली समर्थकसँग खुसी साट्न पाउलान्? त्यसका लागि खेलको निर्धारित समयसम्म कुर्नैपर्ने हुन्छ?
