नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले घरेलु मैदानमा साफ च्याम्पियन बन्ने लक्ष्य भएको बताएकी छिन्।
साफ च्याम्पियनसिप सुरु हुनुअघि आयोपित पत्रकार सम्मेलमा कप्तान एन्जिलाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको सुनाइन्। बिहीबारदेखि घरेलु मैदानमा साफ च्याम्पियनसिप सुरु हुँदै छ।
उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन्। कप्तान एन्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएइन्।
प्रतियोगितामा नेपालले शुक्रबार भूटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ। पहिलो लक्ष्य समूह चरणका खेलमा राम्रो गर्नु कप्तान अन्जिलाले बताइन्।
साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ। डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र यसमा राम्रो गर्न सके टोलीमा सुधार आउने उनले बताइन्।
कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने बताइन्।
यस्तै, नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए। फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको बताए।
प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए।
पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ। यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउछन्। तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ।
नेपालको समूहमा रहेको भूटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहिँअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्द्वी नहुने उनको भनाइ छ। सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउछन्।
आफ्ना दुई स्ट्राइकरमध्ये रेखा पौडेलले एकदिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्रा भण्डारी साम्बाले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ। तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उनले बताए।