केही वर्षअघि, विश्व फुटबलको आकाशमा एउटा तारा चम्किएको थियो—अन्सु फाती। बार्सिलोनाको ला मासिया एकेडेमीबाट उदाएका यी किशोरले १६ वर्षको उमेरमा ला लिगा र च्याम्पियन्स लिगमा रेकर्ड तोड्दै सबैलाई चकित पारे।
उनको गति, ड्रिबलिङ, र गोल स्कोरिङ क्षमताले विश्वलाई विश्वास दिलायो कि लियोनेल मेसीको उत्तराधिकारी आइसकेको छ। सोही कारण बार्सिलोनाले उनलाई मेसीको पवित्र नम्बर १० जर्सी सुम्पियो, र उनलाई विश्व फुटबलको भविष्य मानियो।
तर, आज २२ वर्षको उमेरमा फातीको कथा उल्टिएको छ। चोट, अपेक्षाको बोझ र अवसरको अभावले उनको करिअर झन झन ओरालो लागिरेको छ यो उनको उदय, पतन, र सम्भावित पुनरागमनको मार्मिक गाथा हो।
उदय : ला मासियाको हीरा
फातीको जन्म सन् २००२ मा गिनी–बिसाउको बिसाउमा भएको थियो। ६ वर्षको उमेरमा उनको परिवार स्पेनको सेभिलमा बसाइँ सरे। त्यसपछि उनले स्थानीय क्लबहरूमा आफ्नो प्रतिभा देखाउन थाले। १० वर्षको उमेरमा उनी बार्सिलोनाको ला मासियामा प्रवेश गरे। उनको खेलले प्रशिक्षकहरूलाई लोभ्यायो।
सन् २०१९ को अगस्तमा १६ वर्ष २९८ दिनको उमेरमा उनले रियल बेटिसविरुद्ध ला लिगामा बार्सिलोनाको सिनियर टिमबाट डेब्यू गरे। तीन हप्तापछि उनले भ्यालेन्सियाविरुद्ध गोल र असिस्ट गरे। र, डिसेम्बरमा इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगमा गोल गर्दै सबैभन्दा कम उमेरको गोलकर्ता बने।
सन् २०२० मा उनले स्पेनको सिनियर टिमबाट डेब्यू गरे। युक्रेनविरुद्ध गोल गर्दै राष्ट्रिय टिमको सबैभन्दा कम उमेरको गोलकर्ताको कीर्तिमान बनाए। विश्वले उनलाई गोल्डेन ब्वायको दावेदारको रूपमा हेर्न थाल्यो। उनले एर्लिङ हालान्डलाई पछाडि पार्दै दोस्रो स्थान हासिल गरे।

पतनको सुरुवात
फातीको चम्किलो फुटबल यात्रा सन् २०२० को नोभेम्बरमा अचानक रोकियो। रियल बेटिसविरुद्ध खेलमा उनको बायाँ घुँडाको मेनिस्कस च्यातियो, जसले उनलाई करिब १ वर्ष (३०५ दिन) मैदानबाहिर राख्यो। बार्सिलोनाले चार महिनामा रिकभरी हुने आशा गरेको थियो, तर सर्जरी र जटिलताले उनको करिअरलाई गम्भीर रूपमा प्रभावित पार्यो।
उनले २०२०/२१ सिजनको अधिकांश समय गुमाए। जब फर्किए ह्यामस्ट्रिङ, काफ, र अन्य मांसपेशी समस्याले उनलाई सताउन थाल्यो। सन् २०२१/२२ मा उनले केवल १५ खेल खेले। चोटले सताउन थालेपछि उनको उनको प्रदर्शन निरन्तर ओरालो लाग्यो। टिममा स्थान बनाउन असफल भए।
सन् २०२३/२४ मा प्रिमियर लिगको ब्राइटन मा लोनमा गए। त्यहाँ उनले १९ प्रिमियर लिग खेलमा २ गोल र ६ युरोपा लिग खेलमा २ गोल गरे। त्यहाँ पनि चोटले फातीलाई सताइर्हयो।
अपेक्षाको बोझ र अवसरको कमी
फातीको पतन केवल चोटको कारणले मात्र भएको होइन। सन् २०२१ मा मेसीले बार्सिलोना छोडेपछि फातीलाई नम्बर १० जर्सी दिइयो, जुन १८ वर्षको किशोरका लागि असम्भव बोझ बन्यो। समर्थक र मिडियाले उनलाई मेसीसँग तुलना गर्न थाले।
प्रशिक्षक जाभीले उनलाई नियमित खेल समय दिएनन्, खेल्दा पनि उनले आफ्ने नेचुरल पोजिसन लेफ्ट विङबाट खेल्न पाएनन्। जाभीले उनलाई लेफ्ट विङको सट्टा अन्य पोजिसनमा खेलाए, त्यसले उनेका प्रदर्शनमा असर गर्यो।

जाभीको बर्खास्ती पछि हान्सी फ्लिक बार्सिलोनाको नयाँ प्रशिक्षक बने। फाती उनको प्राथमिकतामा परेनन्। उनले फर्ममा रहेका राफिन्हा र लामिन यामाललाई बढी प्रयोग गरे। खेल्ने अवसर नपाउँदा फातीको करिअरमा थप असर गर्यो। बार्सिलोनाको आर्थिक संकटले क्लबलाई फातीलाई बेच्ने दबाब सिर्जना गर्यो, र उनको बजार मूल्य २०२० मा ८० मिलियन युरोबाट २०२५ मा €५ मिलियनमा झर्यो।
वर्तमान अवस्था : बार्सिलोनामा अनिश्चित भविष्य
यो सिनज उनी अधिकांश समय बेन्चै सीतिम छन्, उनले खेलमा केही मिनेट मात्र खेल्ने अवसर पाएका छन्। आजै राति हुने भालाडोलिडविरुद्धको खेलमा भने प्रशिक्षक फ्लिकले फातीले सुरुआती ११ मै खेलाउने बताइएको छ। यो सिजन उनले ला लिगामा १ खेलमा मात्र स्टार्ट गरेका छन्। यो सिजनमा उनले १० खेलमा २५३ मिनेट खेलेका छन्।
फातीका एजेन्ट जोर्ज मेन्डेस ले जनवरी २०२५ मा बार्सिलोनासँग ४ घण्टा लामो बैठक गरेका थिए। जहाँ उनको सम्भावित ट्रान्सफरबारे छलफल भयो। टर्कीको फेनरबाचे र प्रशिक्षक जोसे माउरिन्होले उनलाई अनुबन्ध गर्न रुची देखाएका थिए। तर फातीले क्लब छाड्न अस्वीकार गरे। उनको जिद्दीले टिमलाई आर्थिक रूपमा पनि असर गरेको छ, किनभने उनको तलबले बार्सिलोनाको वित्तीय सन्तुलनमा दबाब थपेको छ।
फातीको गति र ड्रिबलिङ अझै उत्कृष्ट छ, तर उनको आत्मविश्वास र निर्णय क्षमता कमजोर देखिएको छ।

पुनरागमनको सम्भावना
के फाती फेरि आफ्नो पुरानो लयमा फर्कन सक्छन्? फाती केवल २२ वर्षका छन्, र उनको प्रतिभा निर्विवाद छ। पछिल्लो १८ महिनामा उनी चोटमुक्त छन्, र उनको गति र ड्रिबलिङले उनलाई विशेष बनाउँछ।
उनलाई नियमित खेल समय, मनोवैज्ञानिक समर्थन, र नयाँ वातावरण चाहिएको छ। यदि बार्सिलोनाले उनलाई अवसर दिँदैन भने, फेनरबाचे वा अन्य मध्यमस्तरको क्लबमा गएर उनले आफ्नो करिअर पुनर्जन्म प्रदान गर्न सक्छन्। स्पेनको राष्ट्रिय टिममा लामिन यामाल र पेड्रीले उनलाई पछाडि पारेका छन्, तर उनको क्षमता र उमेरका कारण उनले अझै स्पेनिस टिममा स्थान बनाउन सक्छन्।
०००
अन्सु फातीको कथा एक होनहार ताराको उदय र अप्रत्यासित पतनको मार्मिक गाथा हो। उनको चोट, अपेक्षाको बोझ, र बार्सिलोनाको आन्तरिक समस्याले उनको करिअरमा क्षति गरेको छ। तर, फातीको उमेर र प्रतिभाले उनलाई फेरि उभिने अवसर दिन्छ। उनी अर्को लियोनेल मेसी बन्न नसक्लान्, तर आफ्नो अद्वितीय पहिचान बनाउन सक्छन्।
समर्थकहरूले अझै आशा राखेका छन् कि उनी आफ्नो पुरानो लयमा फर्कनेछन्, तर समय उनको पक्षमा छैन। फातीको कथा फुटबलमा प्रतिभा मात्रै पर्याप्त नहुने, शारीरिक र मानसिक बल पनि उत्तिकै चाहिने पाठ बनेको छ। उनको अर्को कदमले उनको करिरिअरको दिशा निर्धारण गर्नेछ— यो उनको पुनरागमनको कथा बन्नेछ, वा अधुरो सपनाको अर्को अध्याय।