आर्सनल प्रिमियर लिगको उपाधि होडमा फर्किएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुललाई ३–१ ले हराउँदै आर्सनल उपाधि होडमा फर्किएको हो।
यो जितपछि आर्सनल म्यान्चेस्टर सिटीलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलको ५१ र आर्सनलको ४९ अंक भएको छ। २ खेल कम खेलेको सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ।
घरेलु मैदानमा भएको खेलमा बुकायो साकाले १४औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा डिफेन्डर ग्याब्रिअलले आफ्नो पोस्टमा गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो।
दोस्रो हाफमा आर्सनलले दुई गोल थप्यो । ग्याब्रिअल मार्टिनेलीले ६७औं मिनेटमा लिभरपुलको डिफेन्सको गल्तीको फाइदा उठाउँदै टिमलाई पुनः अग्रता दिलाए। त्यसपछि इन्जुरी टाइममा लियोन्ड्रो ट्रोसर्डले गोल गर्दै आर्नलको जित पक्का गरे।
८८औं मिनेटमा लिभरपुलका इब्राहिम कोनाटे दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए।
लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेडले वेष्टहम युनाइटेडलाई ३–० ले हराउँदै चेल्सी भने वुल्भसँग ४–२ले पराजित भयो।