इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा भिल्लाले ब्रेन्टफोर्डमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकालेको हो।
खेलमा भिल्लाका एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले गोल गरे भने ब्रेन्टफोर्डका लेविस पोटरले गोल गरेका थिए।
४५औं मिनेटमा पोटरले गोल गर्दै पहिलो हाफमा ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाए। ७१औं मिनेटमा १० खेलाडीमा समेटिएपछि ब्रेन्टफोर्ड दबाबमा परेको थियो। उसका डिफेन्डर बेन मीले रातो कार्ड पाएका थिए।
त्यसको फाइदा भिल्लाले उठायो। ७७औं मिनेटमा उसका लोपेराले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८५औं मिनेटमा वाट्किन्सले गोल गर्दै खेलमा भिल्लालाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा भिल्ला विजयी भयो। इन्जुरी समयमा बोउबाकर कमाराले रातोकार्ड पाएपछि एस्टन भिल्ला पनि १० खेलाडीमा समेटिएको थियो।
यो सिजन उत्कृष्ट लयमा रहेको भिल्ला ३८ अंकका साथ तेस्रो स्थानमा छ। दोस्रो स्थानको लिभरपुलसँग समान अंक भएपनि उ गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको हो। ब्रेन्टफोर्ड भने १९ अंकका साथ १२औं स्थानमा छ।
यस्तै, अर्को खेलमा वेस्टह्यामले वुल्भ्समाथि ३–०को एकतर्फी जित निकालेको छ। जितपछि वेस्टह्याम २७ अंकसहित आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १९ अंकका साथ १३औं स्थानमा छ।