सेभियामाथि एट्लेटिकोको पुनरागमन जित, उपाधि होडमा बार्सिलोना र रियलमाथि दबाब

7 Apr, 2025

ला लिगाको उपाधि होडमा एट्लेटिको म्याड्रिडले आफ्नो दबाब कायम राखेको छ। आइतबार राति भएको खेलमा सेभियामाथि २–१ को पुनरामगन जित निकाल्दै एट्लेटिकोको बार्सिलोना र रियलमाथि दबाब कायम राखेको हो ।

सेभियाको मैदान रामोन सान्चेज–पिज्जुआन स्टेडियममा भएको खेलमा मिडफिल्डर पाब्लो बारियोसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै एट्लेटिकोलाई तीन अङ्क दिलाए। यो जितले एट्लेटिकोको ला लिगा उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ र शीर्षस्थानमा रहेका बार्सिलोना र रियल म्याड्रिडमाथि थप दबाब सिर्जना गरेको छ।

खेलको सुरुवातदेखि नै दुवै टिमले आक्रामक प्रदर्शन गरे। सेभियाले खेलको ११औँ मिनेटमा फ्रान्सेली मिडफिल्डर लुसियन अगौमेले शक्तिशाली प्रहारमार्फत गोल गर्दै अग्रता लिए। तर, एट्लेटिकोले २५औँ मिनेटमा पेनाल्टी अवसर पायो, जसलाई जुलियन अल्भारेजले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए।

पेनाल्टी क्षेत्रभित्र कोनोर ग्यालाघरलाई फाउल गरिएपछि एट्लेटिकोले यो अवसर पाएको थियो। त्यसपछि लामो समयसम्म दुवै टिमले गोलका लागि सङ्घर्ष गरे पनि कुनै सफलता हात लागेन। खेल सकिनै लाग्दा, इन्जुरी टाइमको अन्तिम मिनेटमा बारियोसले मध्यभागबाट उत्कृष्ट दौड बनाउँदै बक्सको किनाराबाट शक्तिशाली प्रहार गरे र बल सेभियाका गोलकिपरको पहुँचबाहिर गोलको तल्लो कुनामा गएर जाली चुम्यो।

यो जितले एट्लेटिकोलाई ला लिगाको अंक तालिकामा ६० अंकसहित तेस्रो स्थानमा राखेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनासँग ६७ र दोस्रो स्थानको रियल म्याड्रिडसँग ६३ अंक छ।

शनिबार बार्सिलोना रियल बेटिससँग १–१ को बराबरीमा रोकिएको थियो भने रियल म्याड्रिड भ्यालेन्सियासँग २–१ ले पराजित भएको थियो। यी नतिजाले एट्लेटिकोलाई बार्सिलोना र रियलसँगको अंक दूरी कम गर्ने अवसर दिएको थियो।

अब लिगमा ८ खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले खेलपछि आफ्नो टिमको जितबाट उत्साहित रहेको बताए। उनले उपाधिका अन्तिमसम्म लड्ने बताए।

‘यो जित हाम्रो लागि निकै महत्त्वपूर्ण थियो। हामीले पछिल्लो एक महिनामा लगातार ६ खेलमा जित हासिल गर्न सकेका थिएनौँ। तर यो खेलमा खेलाडीहरूले देखाएको संघर्ष र जित्ने चाहनाले मलाई गर्व महसुस भएको छ। हामी अझै उपाधि होडमा छौँ र अन्तिमसम्म लड्नेछौँ,’ उनले भने।

सिमोनीको टिम च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिडसँग पेनाल्टीमा पराजित भएको थियो भने कोपा डेल रे को सेमिफाइनलमा बार्सिलोनासँग हारेको थियो। यी हारपछि ला लिगा नै एट्लेटिकोको एकमात्र आशा बनेको छ।

एट्लेटिकोको यो जितले बार्सिलोना र रियल म्याड्रिडलाई थप दबाबमा राखेको छ। अब एट्लेटिकोले आफ्ना आगामी खेलहरूमा रियल भाल्लाडोलिड र लास पाल्मासजस्ता तुलनात्मक रूपमा कमजोर टिमहरूसँग खेल्नेछ।

बार्सिलोना र रियलले पनि आ-आफ्ना आगामी खेलहरूमा कुनै गल्ती नगरी शीर्ष स्थान कायम राख्ने प्रयास गर्नेछन्। ला लिगाको यो सिजनको उपाधि होड अन्तिम चरणमा पुग्दा निकै रोमाञ्चक बनेको छ, र एट्लेटिकोले आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।