स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बुधवार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३–२ गोलको कठिन अन्तरले पराजित गरेको हो।
बार्सिलोना जितसँगै १८ खेलबाट ३८ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित भएको अल्मेरिया भने पुछारमा रहेको छ। ला लिगामा जिरोना ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष दुवै टिमले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन्।
बार्सिलोनाले घरेलु मैदानमा ३३ औं मिनेटमा अग्रता बनाएको थियो । राफिनाले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ४१ औं मिनेटमा अल्मेरियाका लियोनार्दो कारिचोले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो।
६० औं मिनेटमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले गोल गर्दै अग्रता २–१ बनाए । ७७ औं मिनेटमा अल्मेरियाका लागि एडगर गोन्जालेजले गोल गरेपछि २–२ को रोमाञ्चक बराबरीमा आयो।
निर्धारित समय सकिन ७ मिनेट बाँकी रहेका बेला सर्जिले गोल गरेपछि बार्सिलोना ३–२ को अग्रता लिन सफल भयो। त्यसपछि थप गोल नभएपछि बार्सिलोना ३–२ले विजयी भयो।
ला लिगाकै अन्य खेलमा भिल्लारियलले सेल्टाभिगोमाथि ३–२को जित निकालेको छ। जितसँगै भिल्लारियल १९ अंकका साथ तालिकाको १३औं स्थानमा छ भने सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा छ।
यस्तै, एथ्लेटिको बिल्बाओले दोस्रो हाफको अरिक्तिसमयको चौथो मिनेटमा गोल गर्दै लस पालमसलाई १–० ले हरायो।