सेल्टा भिगोमाथि बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित

20 Apr, 2025

बार्सिलोना र सेल्टाभिगोबीचको खेल निकै रोमाञ्चक रह्यो। ३–१ले पछि परेको अवस्था उल्टाउँदै सेल्टा भिगोमाथि बार्सिलोनाले ४–३ को रोमाञ्चक पुनरागमन जित निकाल्यो।

यो जितपटि बार्सिलोनाले शीर्ष स्थानमा सात अंकको अग्रता कायम गरेको छ। ३२ खेलपछि बार्सिलोनाको ७१ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ३१ खेलमा ६६ अंक छ। सेल्टा भिगो भने ४३ अंकसहित सातौँ स्थानमा छ।

खेलको १२औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए। तर तीन मिनेटपछि नै बोर्खा इग्लेसियासको गोलमा सेल्टाले खेल बराबरीमा ल्यायो। गोलकिपर वोज्सिएक स्जेस्नीले पाब्लो दुरानको कमजोर क्रस रोक्न नसक्दा उनले ट्यापइनमा गरे।

पहिलो हाफ १–१को बराबरीमा सकिएके खेलमा दोस्रो हाफको सुरुआतमै २ गोल गर्दै सेल्टाले खेलमा ३–१को अग्रता लियो। ५२औं र ६२औं मिनेटमा इग्लेसियासले नै गोल गरेको थियो। यी दुई गोल सँगै उनले आफ्नो ह्याट्रिक पनि पुरा गरे। यो यसैसाता बार्सिलोनाविरुद्ध भएको दोस्रो ह्याट्रिक हो। च्याम्पियन्स लिगमा मंगलबार राति डर्टमन्डका सेरु गुइरासीले पनि ह्याट्रिक गरेका थिए।

तर, बार्सिलोनाले हार मानेन। ६४औँ मिनेटमा ड्यानी ओल्मोले गोल गरेर बार्सिलोनालाई खेलमा फर्काए। चार मिनेटपछि (६८औं मिनेट) राफिन्हाले गोल गर्दै खेललाई ३–३को बराबरीमा ल्याए।

खेलको अन्तिम मिनेटमा नाटकीय मोड आयो। ९०ं६ मिनेटमा योएल लागोले बक्सभित्र ओल्मोलाई फाउल गरे, र भार मार्फत त्यसलाई पेनाल्टी दिइयो। ९०ं८ मिनेटमा राफिन्हाले पेनाल्टीमा गोल गर्दै बार्सिलोनलााई ४–३को पुनरामगन जित दिलाए।

यो जितका बाबजुद बार्सिलोनालाई ठूलो झट्का लागेको छ। स्ट्राइकर रोबर्ट लेवान्डोस्की ७८औं मिनेटमा ह्यामस्ट्रिङ चोटका कारण मैदान छाड्न बाध्य भए। उनले यो खेलमा १०० ला लिगा खेल र सम्भवतः १०० गोलको कीर्तिमान बनाउने अवसर गुमाए। उनको चोटले आगामी खेलहरूमा असर पार्न सक्छ।