ब्राजिलिय विंगर राफिन्हाले ला लिगमा पहिलो ह्याट्रिक गरेपछि बार्सिलोनाले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा राफिन्हाको ह्याट्रिक मद्दतमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ७–०को एकतर्फी जित निकाल्यो।
पहिलो हाफमा ३ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा ४ गोल गरेको थियो। उसका लागि राफिन्हासँगै रोबर्ट लेवान्डोस्की, ड्यानी ओल्मो, जुल्स कुन्डे र फेरान टोरेसले गोल गरे।
२०औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता लियो। २४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। लिगमा लेवान्डोस्की सुरुआती चारै खेलमा गोल गर्न सफल भएका छन्। इन्जूरी समयको दोस्रो मिनेटमा कुन्डेले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–०को अग्रता बनायो।
दोस्रो हाफमा भने बार्सिलोना पूर्णरुपमा हावी भयो। त्यसपछि ८ मिनेट अन्तरमा २ गोल गर्दै राफिन्हाले ला लिगामा आफ्नो पहिलो ह्याट्रिक पुरा गरे। उनले ७४औं र ७२औं मिनेटमा गोल गरेका थिए। त्यसपछि ओल्मोले ८२औं र टोरेसले ८५औं मिनेटमा गोल गरेपछि बार्सिलोना ७–०ले विजयी भयो।
यस्तै, अर्को खेलमा एट्लेटिको मड्रिड विजयी भयो। एन्जल कोरेआले इन्जुरी समको दोस्रो मिनेटमा गोल गरेपछि एट्लेटिकोले एथ्लेटिक बिल्बाओमाथि १–०को जित निकाल्यो।
अन्य खेलमा मालोर्काले लेगानेसलाई १–०ले हराउँदा इस्पानियोलले रायो भालेकानालोलाई २–१ले हरायो। यस्तै, भिल्लारियलल र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेले।