लुइस एनसिरकेको टिम पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको छ। शनिबार राति बायर्नको एलियान्ज एरेनामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानमाथि ५–०को एकपक्षीय जित निकाल्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो।
यो च्याम्पियन्स लिग फाइनल इतिहासको सबैभन्दा फराकिलो जित हो। पिएसजी च्याम्पियन्स लिग जित्ने दोस्रो फ्रेन्च क्लब हो। यसअघि सन् १९९३ मा मार्सेलीले पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो।
योसँगै प्रशिक्षक लुइस एनरिसको पिएसजीलाई ट्रेलब जिताएका छन्। यसअघि पिएसजीले लिग १ र फ्रेन्च लिग कप जितेको थियो। उनको करिअरको भने यो दोस्रो ट्रेबल हो। उनले बार्सिलोनाबाट पनि ट्रेबल जितेको थिए।
पिएसजीको डिजायर डुएले २ गोल गरे भने अचरफ हाकिमी, ख्रिचा क्वाराजखेलिया र सेनी मायुलुले गोल गरे। पिएसजीले खेलको सुरुदेखि नै इन्टरमाथि दबाब बनाएको थियो।
१२औं मिनेटमा डुएको पासमा हाकिमीले ट्यापइनमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। यो २०१९ पछिको फाइनलको सबैभन्दा छिटो गोल थियो। यस्तै, २०औं मिनेटमा डुएले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। पहिलो हाफ २–० मै सकियो।
तर, दोस्रो हाफमा पिएसजी थप आक्रमण खेल खेलेको थियो। ६३औं मिनेटमा डुएले नै गोल गर्दै पिएसजीलाई ३–०को अग्रता दिलाए। त्यसपछि भने पिएसजी खेलमा पूर्णरुपमा हावी भएको थियो। त्यसपछि ७३औं मिनेटमा क्वाराजखेलिया र ८६औं मिनेटमा मायुलुले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए। यो गोलसँगै मायुलुले फाइनलमा गोल गर्ने दोस्राे कान्छाे खेलाडी बने।
पिएसजी च्याम्पियन बनेपछि पेरिसको च्याम्प्स एलिसे र पार्क डेस प्रिन्सेसमा ४८ हजारबढी प्रशंसकहरूले विशाल स्क्रिनमा खेल हेरेर उत्सव मनाएका थिए। । फ्लेयर र आतिशबाजीले आकाश रंगिएको थियो। र आइफल टावर पिएसजीको नीलो र रातो रङमा देखिएको थियो। उत्सवमा केही हिंसात्मक झडप भए, जसमा ३०० प्रशंसक पक्राउ परेका छन्।