स्पानिस क्लब रियल मड्रिड र रियल सोसिडाड, जर्मन क्लब बायर्न म्युनिख तथा इटालियन क्लब इन्टर मिलान यरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार राति भएको समूह चरणको चौथो राउन्डमा जित निकाल्दै चारै क्लबले २ खेल बाँकी छँदै नकआउटमा स्थापन पक्का गरेका हुन्।
समूह सीमा लगातार चौथो जित निकाल्ने क्रममा रियलले एससी ब्रागालाई ३–० ले हरायो । उसको जितमा ब्राहिम डियाजले २७औं, भिनिसियस जुनियरले ५८औं र रोड्रिगोले ६१औं मिनेटमा गोल गरे।
यो जितसँगै रियल प्रशिक्षक कार्लो एन्सोलोली च्याम्पियन्स लिगमा सर्वाधिक खेल जित्ने प्रशिक्षक बनेका छन्। उनले च्याम्पियन्स लिगम कुल ११६ खेल जितेका छन्। उनले म्यान्चेस्टर युनाइटेडका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनलाई पछि पारे। उनले ११५ खेल जितेका थिए।
शतप्रतिशत जितपछि रियल चार खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ। यसै समूहको अर्को खेलमा नापोली र युनियन बर्लिनले १–१ को बराबरी खेले। नापोली चार खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ।
यस्तै ह्यारी केनको दुई गोल मदतमा समूह ए को खेलमा टर्किस क्लब गालातासारलाई २–१ ले हराउँदै बायर्न पनि नकआउट चरण प्रवेश गरेको छ। खेलमा केनले ८०औं र ८६औं मिनेटमा गोल गरे। गालातासारेका लागि इन्जुरी टाइममा सेड्रिक बाकाम्पुले एक गोल फर्काए।
जितपछि बायर्न शतप्रतिशत नतिजासहित चार खेलबाट १२ अंक जोडेर समूह एको शीर्ष स्थानमा छ।
समूह डीबाट स्पेनिस क्लब सोसिडाड र इटालियन क्लब इन्टर मिलालने पनि अन्तिम १६ मा स्थान पक्का गरे ।
सोसिडाडले पोर्चुगिज क्लब वेनफिकालाई ३–१ ले हरायो । सोसिडाडका लागि मिकेल मेरिनोले छैटौं, मिकेल ओयाजाबलले ११औं र एन्डर बारेनेजियाले २१औं मिनेटमा गोल गरे । वेनफिकाका लागि राफा शिल्भाले दोस्रो हाफमा एक गोल फर्काएका थिए।
यस्तै इन्टरले एफसी साल्जवर्गलाई १–० ले हरायो र नकआउटमा स्थान पक्का गर्यो। इन्टरका लागि लाउटारो मार्टिनजेले ८५औं मिनेटमा पेनाल्टीबाट गोल गरे।
जितपछि समूह डीमा सोसिडाड र इन्टरको समान १० अंक भएको छ। गोलअन्तरमा सोसिडाड अघि छ । चार खेलपछि ३ अंक रहेको साल्जवर्ग र अंकविहिन वेनफिका भने समूह चरणबाटै बाहिरिएको छ।