च्याम्पियन्स लिगको चौथो चरणमा ४ इंग्लिस क्लब मध्ये ३ क्लबले हार व्यहोर्दा एउटा क्लबले मात्र जित निकालेको छ। बुधबार राति भएको खेलमा म्यान्चेस्टर सिटी, आर्सनल र एस्टन भिल्ला पराजित हुँदा लिभपरपुलले भने सानदार जित निकालेको छ।
म्यान्चेस्टर सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग ४-१को नमीठो हार व्यहोर्न बाध्य भयो। सिटीविरुद्ध स्पोर्टिङलाई सानदार जित दिलाउन भिक्टोर ग्योकेरेसले ह्याट्रिक गरे भने म्याक्सिमिलिआनो अरौजोले पनि गोल गरे। सिटीका लागि फिल फोडेनले मात्र गोल गरेका थिए।
खेलमा अग्रता भने सिटीले लियो। चौथो मिनेटमा फोडेनले गोल गरेका थिए। त्यसपछि ३८औं मिनेटमा ग्योकेरेसले गोल गर्दै खेलालाई बराबरीमा ल्याए। ४६औं मिनेटमा अरौजोले स्पोर्टिङलाई अग्रता दिलाए।
४९औं मिनेटमा ग्योकेरेसले गोल गरेपछि खेलमा स्पोर्टिङले २ गोलको अग्रता लियो। ६९औं मिनेटमा हालान्ड पेनाल्टीमा गोल गर्न चुकेपछि सिटीले खेलमा फर्कने अवसर गुमाएको थियो। त्यसपछि ग्योकेरेसले नै ८०औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए। उनले पछिल्ला दुवै गोल पेनाल्टीमा गरेका थिए।
यस्तै, अर्को खेलमा आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-०ले पराजित भयो। इन्टरका लागि हाकन काल्हनोलुले गोल गरेका थिए।
यसअघि लगातार तेस्रो खेलमा जित निकालेको एस्टन भिल्ला पनि चौथो खेलमा पराजित भयो। भिल्ला क्लब ब्रुगसँग १-०ले पराजित भयो। क्लब ब्रुगका लागि हान्स वानकेनले निर्णायक गोल गरे।
अन्य तीन इंग्लिस क्लब पराजित हुँदा लिभरपुलले भने सानदार जित निकालेको छ। उसले जर्मन क्लब बायर लेभरकुसन माथि ४-०को जित निकाल्यो। उसका लागि लुइस डियाजले ह्याट्रिक गरे भने कोडी ग्याप्कोले पनि गोल गरे।