इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा चेल्सीले वेस्टहममाथि ५–१को जित निकाल्यो।
खेलमा चेल्सीका लागि जोआ पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेस, मोइसेस काइसेडो र ड्रोवोह चालोबाहले गोल गरेका थिए। यता, वेस्टहमका लुकास पक्वेटाले गोल गरेका थिए।
खेलमा अग्रता भने वेस्टमहमले लियो। उसका ब्राजिलियन खेलाडी पक्वेटाले छैठौं मिनेटमा गोल गरेका थिए। तर, १५औं मिनेटमा चेल्सीका ब्राजिलियन स्ट्राइकर पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि २३औं मिनेटमा नेटोले गोल गर्दै खेलमा चेल्सीलाई २–१को अग्रता दिलाए। त्यसपछि भने चेल्सीले खेलमा पकड बनाएको थियो। ३४औं मिनेटमा फर्नान्डेसले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३–१को अग्रता लियो।
त्यसपछि दोस्रो हाफका सुरुआतमै ४ मिनेटमा चेल्सीले २ गोल गरेको थियो। उसका काइसेडोले ५४ र चालोबाहले ५८औं मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा चेल्सी ५–१ले विजयी भयो।
