कोपा अमेरिका भोलिबाट, उद्घाटन खेलमा अर्जेन्टिना र क्यानडा भीड्दै

20 Jun, 2024

कोपा अमेरिकाको ४८औं संस्करण भोलि बिहानबाट सुरु हुँदैछ। पहिलो पटक दक्षिण अमेरिका र उत्तर अमेरिकका १६ टिम सहभागी हुने अमेरिकामा आयोजना हुनेछ।

भोलि बिहान ५ः४५ मा एट्लान्टामा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडाको सामाना गर्नेछ। दक्षिण अमेरिकाको यो प्रतियोगितामा कोन्मेबोलका १० र उत्तरअमेरिकाका ६ टिम सहभागी छन्।

यो प्रतियोगितालाई अमेरिकाले सन् २०२६को विश्वकप आयोजनाको तयारीका रुपमा पनि हेरेको छ। सन् २०२६को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्। अमेरिकाले दोस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि उसले सन् २०१६मा पनि यो प्रतियोगिता आयोजना गरेको थियो।

१६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ। जसमा समूह एमा अर्जेन्टिना र क्यानडासँगै चिली र पेरु पनि छन्। यस्तै, समूह बीचमा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् भने समूह सीमा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया छन्।

यस्तै, समूह डीमा ब्राजिल, कोलम्बिया, पाराग्वे र कोस्टारिका छन्। प्रत्येक समूहबाट शीर्ष २ टिम क्वार्टरफाइनल प्रवेश गर्ने छन्।

प्रतियोगिताको फाइलन मियामीमा जुलाई १५मा हुनेछ।

मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र भिनिसियस, रोड्रिगोजस्ता युवा स्टार खेलाडीको साथ पाएको ब्राजिल प्रतियोगिताका सबैभन्दा ठूला दाबेदार हुन्। उनीहरुलाई सदबहार उरुग्वे र उत्कृष्ट लयमा रहेको कोलम्बियाले चुनौती दिन सक्नेछन्। उत्तर अमेरिकाबाट भने अमेरिकाले चुनौती दिन सक्नेछ।