कोपा डेल रेमा बार्सिलोना र एट्लेटिको मड्रिडको सानदार जित

16 Jan, 2025

स्पेनको नकआउट फुटबल प्रतियोतिगा कोपा डेल रेमा दुई जायन्ट क्लब बार्सिलोना र एट्लेटिको मड्रिड विजयी भएका छन्। बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–१ ले हराउँदा एट्लेटिकोले इल्चेमाथि ४–०को सहज जित निकाल्यो।

क्याम्प नाउमा भएको खेलमा तेस्रो मिनेटमै गावीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २७औं मिनेटमा जुल्स कुन्डेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

पहिलो हाफ २–०मै सकियो। दोस्रो हाफमा थप ४ गोल भयो। जसमा बार्सिलोनाका राफिन्हाले ५८, फरान टोरेसले ६७ र लमिन यमालले ७५औं मिनेटमा गोल गरेका थिए। यता, बेटिसका लागि बार्सिलोनाकै खेलाडी भिक्टर रोकीले पेनाल्टीमा ८४औं मिनेटमा सान्त्वना गोल गरेका थिए।

यस्तै, अर्को खेलमा इल्चेलाई उसकै मैदानमा हराउने क्रममा एट्लेटिकोका अलेक्जेन्डर सोर्लोथले २ गोल गरे भने रोड्रिगो रिकेल्मी र जुलियन अल्भारेजले गोल गरे।

सोर्लोथले ८ र २९औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–०को अग्रता दिलाए। त्यसपछि ६१औं मिनेटमा रिकेल्मी र ७५औं मिनेटमा अल्भारेजले गोल गरेपछि एट्लेटिको ४–०ले विजयी भयो।

यस्तै, अन्य खेलमा गोटाफेले पोन्टेवेड्रामाथि १–०को जित निकाल्दा लेगानेसले अल्मेरियालाई ३–२ले हरायो।

बुधबार राति जित निकालेका सबै टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।