पोर्चुगिस सुपरस्टार क्रिस्टियानो रोनाल्डो फुटबलमा मात्रै होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै लोकप्रिय छन्।
रोनाल्डोको एक्समा ११२ मिलियन फलोअर्स छन् भने त्यस्तै फेसबुकमा १७० मिलियन र इन्स्टाग्राममा ६३६ मिलियन फलोअर्स छन्।
बुधबार मात्रै उनी अर्को समाजिक सञ्जाल युट्युबमा पनि जोडिए। उनले ‘यूआर क्रिस्टियानो’ नाममा च्यानल खेले।
च्यानल खोल्नेबित्तिकै रोनाल्डोले युट्युबमा पनि रेकर्ड बनाउन सुरु गरिहाले। सबैभन्दा छिटो १ लाख सब्सक्राइबर पुर्याउने रोनाल्डो पहिलो व्यक्ति भएका छन्। उनले च्यानल खोलेको ९० मिनेटमै १० लाखभन्दा बढीले सब्सक्राइब गरेका थिए। ४ घण्टामै उनको सब्सक्राइबर ५० लाख नाघेका थिए।
उनले युट्युब च्यानल खोलेको जानकारी सामाजिक सञ्जालमा दिएका थिए । उनले लेखेका थिए, ‘लामो पर्खाइ सकिएको छm मेरो युट्युब च्यानल यहाँ छ । मेरो नयाँ यात्रामा जोडिनुहोला।’
रोनाल्डोले युट्युब च्यानल खोलेको १६ घण्टा भएको छ। यो अवधिमा उनको च्यालनमा १४ मिलियन बढी सब्सक्राइबर पुगिसकेको छ।
उनले १० लाख सब्सक्राइबर पुगेपछि पाउने गोल्डेन बटनसमेत पाइसकेका छन्। १ करोड सब्सक्राइबर पुगेपछि पाउने डायमन्ड बटनका लागि समेत योग्य भइसकेका छन्। अहिले उनको च्यानलमा १९ वटा विभिन्न भिडियो अपलोड भएका छन् भने ती भिडियोले पनि लाखौँ भ्युज पाइसकेका छन्।
रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडीसमेत रहेका पोर्चुगिज स्टार रोनाल्डो यतिबेला भने साउदी प्रोलिगमा आबद्ध छन्। उनी आबद्ध अल नासरले बिहीबार अल राइदसँग प्रतिस्पर्धासमेत गर्दैछ।