ब्राजिल प्रशिक्षक डोरिभल बर्खास्तीमा

29 Mar, 2025

ब्राजिलियन फुटबल टिमका मुख्य प्रशिक्षक डोरिभल जुनियर बर्खास्तीमा परेका छन्

विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनासँग नमिठो हार व्यहोरोको केही दिनपछि नै ब्राजिलियन फुटबल कन्फेडेरेसनले डोरिभललाई बर्खास्त गरेको हो।

विश्व फुटबलको पावरहाउस मानिने ब्राजिलले आफ्नो चिरप्रतिद्वन्द्वी अर्जेन्टिनासँग पराजय बेहोरेपछि प्रशिक्षकमाथि ठूलो दबाब बढेको थियो। उनको नेतृत्वमा ब्राजिलले राम्रो फुटबल खेल्न सकेको छैन। विश्वकप छनोटमा ब्राजिल चौथो स्थानमा छ।

फोडेसेरनले एक विज्ञप्ति जारी गर्दै डोरिभल जुनियरले अब टिमको नेतृत्व नगर्ने जानकारी दिएको छ।

‘ब्राजिलियन फुटबल कन्फेडेरेसनले प्रशिक्षक डोरिभाल जुनियर र उनको टिमप्रति आभार व्यक्त गर्दछ । उनको आगामी करियरको लागि शुभकामना दिन्छ। अब सीबीएफ नयाँ प्रशिक्षकको खोजीमा जुट्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

डोरिभलको नेतृत्वमा ब्राजिलले पछिल्लो समय अपेक्षित प्रदर्शन गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो। विशेषगरी अर्जेन्टिनासँगको हारले समर्थक र फुटबल विश्लेषकहरूको असन्तुष्टि चुलिएको थियो। यो हारले दक्षिण अमेरिकी फुटबलमा ब्राजिलको प्रभुत्वमाथि नै प्रश्न उठेको छ।

डोरिभलले सन् २०२३ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए, तर उनको कार्यकालमा टिमले उल्लेखनीय सफलता हासिल गर्न सकेन। उनको प्रशिक्षणमा ब्राजिलले १६ खेल खेलेको छ। जसमा ब्राजिलले समान ७ जित र बराबरी खलेको छ भने २ हार व्यहोरहेको छ।

सन् २०२२ को कतार विश्वकपको क्वार्टफाइनलबाट बाहिरए लगत्तै प्रशिक्षक टिटेले छाडेपछि ब्राजिल निरन्तर खराब प्रदर्शनबाट गुज्रिरहेको छ।

अब ब्राजिलले नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ। जसमा रियल मड्रिडबाट इटालियन प्रशिक्षक कार्लो एन्सोलोटी, जोर्गे जेसुस र फिलिपे लुइसको चर्चा छ।

फुटबल वृत्तमा यो चर्चाको विषय बनेको छ कि आगामी प्रशिक्षक को हुन सक्छन् र उनले ब्राजिलको गुमेको गौरव फर्काउन सक्छन् कि सक्दैनन्। समर्थकहरूले टिमको पुनरुत्थानको आशा राखेका छन्, विशेषगरी आगामी विश्वकप छनोट खेलहरूलाई मध्यनजर गर्दै।