प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड पराजित भएको छ। शनिबार राति भएको खेलमा युनाइटेड घरमै टोटनहमसँग ३–०को फराकिलो अन्तरले पराजित भयो।
खेलमा टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलन्केले गोल गरे।
तेस्रो मिनेटमै जोन्सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। ४२औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो। र, १ गोलले पछि परेको अवस्थामा दबाबमा पनि आयो।
४७औं मिनेटमा कुलसेभ्स्कीले गोल गर्दै टोटनहमको अग्रता दोब्बर बनाए। त्यसपछि ७७औं मिनेटमा सोलन्केले गोल गर्दै टोटनहलाई ३–०को सहज जित दिालए।
घरमै प्राप्त यो हारसँगै प्रशिक्षक इरिक टेन ह्यागमाथि दबाब परेको छ। अब उनी जुनसुकै बेला बर्खास्तीमा पर्न सक्ने छन्।
निरन्तर खराब प्रदर्शन गरिरहेको युनाइटेडले ६ खेलमा ७ अंक मात्र जोड्न सकेको छ। ऊ १२औं स्थानमा छ। यता, टोटनहम १० अंकसहित आठौं स्थानमा छ।
यस्तै, अर्को खेलमा एस्टन भिल्लाले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। आइतबार राति नै भएको खेलमा इपस्विच टाउनसँग २–२ गोलको बराबरीमा रोकिएपछि भिल्लाले दोस्रो स्थानमा उक्लन ेअवसर गुमाएको हो।
खेलमा ८औं मिनेटमा लिअय डेल्पले गोल गर्दै इपस्विचलाई अग्रता दिलाए। १५औं मिनेटमा मोर्गन रोजर्सले भिल्लालाई बराबरीमा ल्याए। त्यसपछि ३२औं मिनेटमा ओले वाट्किन्सले भिल्लालाई खेलमा अग्रता दिलाए। तर, ७२औं मिनेटमा डेल्पले नै गोल गरेपछि भिल्ला २–२को बराबरीमा रोकियो।
योसँगै उसले म्यान्चेस्टर सिटी र आर्सनलाई उछिन्ने अवसर गुमायो। ऊ १३ अंकसहित चौथो स्थानमै यथावत छ। इपस्विच भने ४ अंकसहित १५औं स्थानमा छ।