इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल रोकिएको छ। बुधबार राति गुडिन्सन पार्कमा भएको ‘मर्सी साइड डर्बी’मा लिभरपुललाई एभर्टनले २–२ गोलको बराबरीमा रोकेको हो।
खेलमा एभर्टनका बेटो र जेम्स ट्राकोस्कीले गोल गरेका थिए भने लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए।
घरेलु मैदानमा अग्रता पनि एभर्टनले लियो। उसको बेटोले ११औं मिनेटमा गोल गरेका थिए। तर, १६औं मिनेटमा एलिस्टरले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ७३औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–१को अवस्थामा ल्याए। खेल जिततर्फ भइरहेको अवस्थामा इन्जुरी समयको लिभपुलले गोल खान पुगेको पुगेको थियो। इन्जूरी समयको आठौं मिनेटमा ट्राकोस्कीले गोल गरेका थिए।
खेलको अन्त्य दुवै टिमले १० खेलाडीमा रहेर गरे। इन्जुरी समयको १२औं मिनेटमा एभर्टनका एबडोउलेइ डोकोउरे र लिभरपुलका कर्टिस जोन्सले रातो कार्ड पाएका थिए। रेफ्रिको निर्णयको प्रतिवाद गर्दा लिरभपुलका प्रशिक्षक अर्न स्लटले पनि रातो कार्डा पाएका थिए।
यो बराबरीपछि पनि लिभरपुल शीर्ष स्थानमै छ। उसले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। उसको २४ खेलमा ५७ अंक छ भने समान खेलबाट आर्सनलको ५० अंक छ। एभर्टन भने २७ अंकसहित १५औं स्थानमा छ।