सफ्टिच्युट खेलाडी वली वाट्किन्सको निर्णयाक गोल मद्दतमा इंग्ल्यान्ड जारी युरोकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डर्टमन्डमा भएको खेलमा नेदरल्यान्ड्समाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकाल्दै इंग्ल्यान्ड फानलमा पुगेको हो।
इंग्ल्यान्ड युरोकपमा अलगतार दोस्रो पटक फाइनल पुगेको हो। अघिल्लो युरोकपमा ऊ फाइनमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
खेलमा अग्रता भने नेदरल्यान्ड्सले लियो। उसका लागि ७औं मिनेटमा जाभी सिमोनले गोल गरेका थिए। डिबक्स बाहिरबाट गरेको उनको कडा प्रहार सिधै गोलमा परिणत भएको थियो।
तर, १८औं मिनेटमा इंग्ल्यान्डले बराबरी गोल फर्कायो। डेन्जल डम्फ्रिसले ह्यारी केनलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा केनले नै गोल गरेका थिए। यो गोलसँगै उनी युरोपकको नकआउटमा सबैभन्दा धेरे गोल गर्ने खेलाडी बनेका छन्। उनले युरोकपको नकआउटमा ६ गोल गरेका छन्।
पहिलो हाफ १–१को बरारबीमा सकियो। दुवै टिमले गोलका राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न नसकेपछि खेल बराबरीतर्फ उन्मूख थियो। तर, निर्धारित समयको खेल सकिने १ सेकन्डमात्र बाँकी भएको अवस्थामा कोल पाल्मरको पासमा वाट्किन्सले उत्कृष्ट फिनिसिङ गर्दै इंग्ल्यान्डलाई जित दिलाए।
अब उसले आइतबार राति बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्ने छ। स्पेन फ्रान्सलाई २–१ले नै हराउँदै फाइनल पुगेको थियो।