युरोपा लिगमा टोटनहमको शतप्रतिशत जित, युनाइटेड रोकियो

25 Oct, 2024

युरोपा लिग फुटबलमा टोटनहमले शतप्रतिशत जितको यात्रा कायमै राखेको छ। यसक्रममा उसले बिहीबार राति भएको खेलमा एजे अल्कमारलाई १–० ले हरायो।

टोटनहमलाई जित दिलाउन ब्राजिलियन स्ट्राइकर रिचार्लिसनले गोल गरेका थिए। उनले ५३औं मिनेटमा पेनाल्टीम गोल गरेका थिए। त्यही गोल खेलको निर्णायक गोल बन्यो।

खेलको अन्त्यतिर डेविड मोलर वोल्फले ब्रेन्नन जोनसनलाई फाउल गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अल्कमार १० खेलाडीमा समेटिएको थियो।

जारी लिगमा टोटनहमको यो लागतार तेस्रो जित हो।

अर्को इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने बराबरीमा रोकिएको छ। बिहीबार राति नै भएको अर्को खेलमा युनाइटेड सुरुआती अग्रता जोगाउन नसक्दा टर्किस क्लब फेनराबाचेसँग १–१को बराबरीमा रोकियो।

खेलमा १५औं मिनेटमा क्रिस्टियन एरिक्सनको गोलमा युनाइटेडले अग्रता लिएको थियो। उसले यो अग्रता पहिलो हाफसम्म कायमै राख्यो। तर, दोस्रो हाफको सुरुआतमै फेनराबाचेले गोल फर्कायो। ४९औं मिनेटमा उसका युसुफा एन नेसरीले गोल गरेका थिए।

युरोपा लिगमा खराब प्रदर्शन गरिरहेको युनाइटेडको यो लागतार तेस्रो बराबरी यो। लिगम ऊ अझै जित बिहीन छ। ऊ ३ अंकसहित १४औं स्थानमा छ।

यस्तै अन्य खेलमा एथ्लेटिक क्लबले स्लाभिया प्राहालाई १–०ले पराजित गर्दा लियोन टर्किस क्लब बेसिक्टाससँग १–०ले पराजित भयो। यस्तै, ओलम्पियाकोसले माल्मोलाई १–०ले नै हरायो।