युरोपा लिग फाइनल : लिगको खराब लय भुल्दै च्याम्पियन बन्ने युनाइटेड र टोटनहमको दाउ

21 May, 2025

युरोपा लिगको फाइनल आज राति स्पेनको बिल्बाओको सान मम्स स्टेडियममा हुँदैछ। राति १२ः४५ बजे हुने यो फाइनल ‘अल इंग्लिस’ हुनेछ। जसमा प्रिमियर लिगमा रेलिगेसन जोनबाट ठिक माथि मात्र रहेका दुई टिम म्यान्चेस्टर युनाइटेड र टोटनहम भीड्ने छन्।

यो युरोपा लिगको तेस्रो ‘अल इंग्लिस’ फाइनल हो। त्यसैले दुवै टिम लिगको खराब लयलाई भुल्दै उपाधिसहित सिजनको सुखद अन्तय गर्ने पक्षमा हुनेछन्। र, अर्को सिजन च्यापियन्स लिग खेल्ने पनि उनीहरुको चाहना हुनेछ।

टोलीको फर्म

म्यानचेस्टर युनाइटेड : युनाइटेड युरोपा लिगमा अपराजित रहँदै फाइनल पुगेको हो। ऊ लिग चरणमा तेस्रो स्थानमा रहेको थियो।। उसले अन्तिम १६ मा रियल सोसिएडाडलाई ५–२ले हराएको थियो भने क्वार्टरफाइनलमा लियोनलाई ७–६ (अतिरिक्त समयमा) र सेमिफाइनलमा एथ्लेटिक बिल्बाओलाई समग्रमा ७–१ ले हराएको थियो। नयाँ प्रशिक्षक रुबेन अमोरिमको ३–४–३ रणनीति अझै पूर्ण रूपमा जम्न बाँकी छ। युनाइटेडको युरोपेली इतिहास र अपराजित रेकर्डले उसलाई उसलाई केही हदसम्म उपाधिको बलियो दाबेदार बनाउँछ।

टोटनहम : टोटनहमले यो सिजन युरोपा लिगमा ५ जित, २ बराबर र १ हारसहित लिग चरणमा चौथो स्थान हासिल गरेको थियो। उसले अन्तिम १६ मा एजेड अल्कमारलाई ३–२, क्वार्टरफाइनलमा फ्रान्कफर्टलाई २–१ र सेमिफाइनलमा बोडो ग्लिम्टलाई ५–१ ले हराएको थियो। यो सिजन टोटनहमले म्यानचेस्टर युनाइटेडलाई तीन पटक हराइसकेको छ, त्यसैले उ युनाइटेडलाई चौथो पटक हराउँदै उपाधि जित्न चाहन्छ। तर, प्रिमियर लिगमा पछिल्लो ११ खेलमा केवल १ जित मात्र निकलोको एन्ज पोस्टेकोग्लूको टिम फाइनलमा दबाबमा पक्कै हुनेछ।

मुख्य खेलाडीहरू

फाइनलमा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेस नै सबैभन्दा मुख्य खेलाडी हुन्। उनी युनाइटेडका सबेभन्दा इनफर्म खेलाडी पनि हुन् उनले युरोपा लिगमा ७ गोल र ४ असिस्ट गरेका छन्। रियल सोसिएडाडविरुद्ध उनले ह्याट्रिक नै गरेका थिए। यस्तै, पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेका कासेमिरो, गर्नाचो, म्यानुअल उगार्टेलगायतत पनि उसका लागि महत्वपूर्ण छन्।

यस्तै, टोटनहमका लागि चोटमुक्त हुँदै कप्तान सन ह्युङ मिन फर्कनु सुखद् छ। यो सिजन ११ गोल र १२ असिस्ट गरेका उनी फाइनलमा महत्वपुर्ण खेलाडी हुनेछन्। यस्तै, डोमिनिक सोलान्के, ब्रेन्डन जोन्सन, जेम्स माडिन्सन, क्रिस्टियन रोमेरोको भूमिका महत्वपूर्ण हुनेछ।

रणनीति

फाइनलमा रुबेन अमोरिमले ३–४–३ को फर्मेसनमै टिमलाई उतार्नेछन्। विङ ब्याकहरूलाई स्वतन्त्रता दिँदै विपक्षीमा आक्रमण गर्ने रणानीति उसको हुनेछ। तर, उनीहरुको आक्रमण सटिक नभएकाले भने युनाइटेडलाई चिन्ता थपेको छ। ब्रुनोको रचनात्मकता, गर्नाचोको गति र होयलुन्डको फिनिसिङमा युनइटेडको प्रदर्शन निर्भर रहनेछ।

यता, एन्ज पोस्टेकोग्लूको हाईप्रेस र फ्रन्ट फुट फुटबलमा जोड दिने छन्। यसले विपक्षीलाई दबाबमा राख्नेछ। यो रणनीतिमा ऊ सफल पनि भउको छ। भान डे भेनको गति र सनको फिनिसिङले युनाइटेडको रक्षालाई चुनौती दिनेछ। तर, मिडफिल्डमा रचनात्मक खेलाडीको कमीले भने विपक्षीलाई खेल नियन्त्रणमा लिने अवसर दिनसक्छ।

हेड टु हेड

यी दुई टिम अहिलेसम्म आपसमा २०४ पटक भीडेका छन्। जसमा युनाइटेडले ९६ खेल जित्दा टोटनहमले ५७ जितेको छ। तर, यो सिजन भएका तीनै भेटमा टोटनहम विजयी भएको छ, त्यसले उसलाई मनोवैज्ञानिक रुपमा केही बलियो भने पक्कै बनाउँछ।

०००

टोटनहमको यो सिजनको युनाइटेडविरुद्धको रेकर्ड र सनको सम्भावित फर्काइले उनीहरूलाई केही फेभरेट बनाउँछ । तर, युनाइटेडको अपराजित युरोपा लिग रेकर्ड र ठूला खेलमा फर्नान्डेसले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेकाले फाइनल रोचक हुने अनुमान गर्न सकिन्छ।

फाइनल जसले जिते पनि नयाँ कीर्तिमान भने बन्ने छ। अहिलेसम्म प्रिमियर लिगमा १४औँ स्थान भन्दा तल रहेको टिमले युरोपा लिग जितेको इतिहास छैन। तर, आज त्यो तोडिने छ।

टोटनहमको १७ वर्षे उपाधि खडेरी तोड्ने सपना र युनाइटेडको सिजन बचाउने लडाइँले यो फाइनललाई अविस्मरणीय बनाउनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]