पोर्चुगिज डिफेन्डर पेपेले लिए सन्न्यास

9 Aug, 2024

पोर्चुगिज भेट्रान डिफेन्डर पेपेले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्। ४१ वर्षीय पेपेले बिहीबार साँझ आफ्नो खेल जीवन टुंग्याउने घोषणा गरेका हुन्।

उनले इन्टामा फोटो शेयर गर्दै सन्न्यासको घोषणा गरेका हुन्। उनले आफूलाई क्लब र देशका लागि खेल्दा सपोर्टे गर्ने सबैलाई धन्यवाद दिएका छन्।

आफूले खेल्दासम्म आफ्नो तर्फबाट शतप्रतिशत दिएको उनले बताएका छन्। फुटलबको यो यात्राका लागि उनले भगवानलाई पनि धन्यवाद दिएकाछन्।

पेपे पोर्चुगलले पाएको अहिलेसम्मकै उत्कृष्ट डिफेन्डर हुन्। सन् २००२ मा सिएस मारिटिमोबाट व्यवसायिक फुटबल खेल्न थालेका उनले ८७८ खेल खेल्दै ३४ उपाधि जितेका छन्।

पेपेले रियल मड्रिडबाट १० सिजन खेलेको थियो। ३३४ खेल खेल्दै १५ गोल गरेका थिए। त्यहाँ उनले ३ ला लिगा, ३ च्याम्पियन्स लिगसहित १३ उपाधि जितेका थिए।

उनले पोर्चुगिल क्लब पोर्टोबाट ९ सिजन खेले। उनले रियल आउनुअघि ३ सिजन र पछिल्ला ६ सिजन पोर्टोबाट खेलेका थिए। दोस्रो पटक पोर्टो आउनुअघि उनले टर्किस क्लब बेसिटास्कबाट २ सिजन खेलेका थिए।

सन् २००७मा पोर्चुगिज टिममा डेब्यू गरेका उनले कुल १४१ खेल खेल्दै ८ गोल गरेका थिए। सन् २०१६ को युरोकप र सन् २०१९मा नेसन्स लिग जित्दा उनी पोर्चुगिज टिमका महत्वपूर्ण सदस्य थिए।

उनले करिअरको अन्तिम खेल गत महिना भएको युरोकपमा क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध खेले। सो खेलमा पोर्चुगल फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।