इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सान सिरोमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४–३ (समग्रमा ७–६)को रोमाञ्चक जित निकाल्दै इन्टर फाइनलमा पुगेको हो। इन्टर तीन वर्षमा दोस्रो पटक फाइनल पुगेको हो। समग्रमा ऊ तेस्रो पटक फाइनल पुगेको हो।
अब इन्टरले म्युनिखको एलियान्ज एरिनामा मे ३१ मा हुने फाइनलमा उपाधिका लागि पिएसजी वा आर्सनलमध्ये एकसँग खेल्ने छ। ऊ सन् २०१० पछि च्याम्पियन्स लिगको उपाधिको खोजीमा छ।
पहिलो लेगमा बार्सिलोना र इन्टरले ३–३ को बराबरी खेलेका थिए, जसले दोस्रो लेगलाई निर्णायक बनाएको थियो।
सान सिरोमा भएको दोस्रो लेगमा इन्टरले पहिलो हाफमा आक्रामक सुरुवात गर्यो। लाउतारो मार्टिनेजले २१औं मिनेटमा काउन्टर अट्याकबाट गोल गरे र टिमलाई सुरआती अग्रता दिलाए। उनले डेन्जल डम्फ्रिसको पासमा ट्यापइनमा सहजै गोल गरेका थिए।
पहिलो हाफकै इन्जुरी समयमा इन्टरले अग्रता दोब्बर बनायो। काउन्टरमा बल अगाडि बढाइरहेका मार्टिनजलाई पाउ कुबासीले डिबक्समा फाउल गरेपछि इन्टरले पेनाल्टी पायो। त्यसमा हाकन चाल्हानोग्लुले सहजै गोल गर्दै टिमलाई २–० र समग्रमा ५–३ को अग्रता दिलाए।

पहिलो लेगमा पनि २ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गरेको बार्सिलोनाले दोस्रो लेगमा त्यस्तै ग¥यो। दोस्रो हाफमा आक्रामक फुटबल खेलेको बार्सिलोनाले एरिक गार्सियाको गोलमा ५४औं मिनेटमा गोल गर्दै खेलमा पुनरागमन गरेको थियो। त्यसेको ६ मिनेट पछि नै ड्यानी ओल्मोले ६०औं मिनेटमा गोल गर्दै खेलालाई २–२को बराबरीमा ल्याए।
८७औं मिनेटमा राफिन्हाले गोल गरेपछि बार्सिलोनाले खेलमा ३–२ र समग्रमा ६–५ को अग्रता लियो। फाइनल पुग्ने सम्भावना बलियो बनायो। त्यसपछि बार्सिलोनाले इन्टरलाई दबाबमा राखेको थियो। तर, अन्तिम २ मिनेट सम्हालिन नसक्दा इन्टरले बराबरी गोल फर्कायो। इन्जुरी समयको तेस्रो मिनेटमा डम्फ्रिसकै पासमा फ्रान्सेस्को असेर्बीले बराबरी गोल गरे।
यो गोलपछि खेल ३–३ र सम्रहमा ६–६को बराबरीमा सकियो। खेलमा त्यसपछि ३० मिनेट अतिरिक्त समय थप गरियो। अतिरिक्त समयको नवौं मिनेटमा डेभिड फ्राटेसीले गोल गरेपछि इन्टरले अप्रत्यासित रुपमा समग्रहमा बार्सिलोनाविरुद्ध ७–६को अग्रता लियो।
खेलमा पछि परेपछि बार्सिलोनाले गोलको थुप्रै प्रयास गरेको थियो। युवा खेलाडी लमिन यमालका केही उत्कृष्ट प्रहार इन्टरका गोलकिपर यान सोमरले उत्कृष्ट बचाउ गरेका थिए। र, टिमलाई म्युनिखको टिकट कटाए।