आयोजक झापा ११ लाई हराउँदै चर्च बोइज युनाइटेड झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शनिबार विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११लाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च बोइज फाइनलमा पुगेको हो।
निकै प्रतिस्र्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा दुवै टिमका गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा चर्च बोइजका सुरजज्यु ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर दीप कार्कीले गोल गर्दा सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बुले बचाएका थिए।
यता, झापाका आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे। प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो भने मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाए।
यसअघिका लगातार ५ सिजन फाइनल खेलेको झाप यो सिजन भने फानल पुग्न सकेन। पाँच सिजन फाइनल खेले पनि झापाले उपाधि जित्न भने सकेको छैन।
पहिलो पटक झापा गोल्डकपको फाइनल पुगेको चर्च बोइजले अब उपाधिका विभागीय टिम एपिएफसँग खेल्नेछ। फाइलन सोमबार हुनेछ।