‘स्पेल वान’ उपनामले परिचित प्रशिक्षक जोसे माउरिन्हो पोर्चुगिज क्लब बेन्फिकाको नयाँ प्रशिक्षक बन्ने भएका छन्।
६२ वर्षीय माउरिन्होले बेन्फिकामा ब्रुनो लेगाको स्थान लिने छन्। तर, माउरिन्होको बेन्फिका आगमनको औपचारिक घोषणा हुन भने बाँकी छ।
च्याम्पियन्स लिगको पहिलो खेलमा अजरबैजानको क्लब क्वारबाग एफकेसँग ३–२ले पराजित भएको केही घण्टामै बेन्फिकाले ब्रुनोलाई बर्खास्त गरेको छ। उनकै स्थानमा माउरिन्हो आउन लागेका हुन्।
माउरिन्होले आफ्नो सियिनर प्रशिक्षण करिअर बेन्फिकाबाटै सुरु गरेका थिए। उनी २००० को सेप्टेम्बरदेखि डिसेम्बरसम्म क्लबको प्रशिक्षक बनेका थिए।
माउरिन्हो सिजनको सुरुआतमै टर्किस क्लब फेनराबाचेबाट बर्खास्तीमा परेका थिए। च्याम्पियन्स लिग छनोटको प्लेफमा पराजित भएपछि फेनराबाचेले उनलाई बर्खास्त गरेको थियो।
माउरिन्हो निकै अनुभवी प्रशिक्षक हुन्। उनी युईएफएका सबै उपाधि जित्ने एकमात्र प्रशिक्षक हुन्। उनले एफसी पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग, चेल्सीबाट युरोपा लिग, रोमाबाट कन्फ्रेन्स लिग तथा पोर्टोबाटै युईएफए कप जितेका छन्।
उनले करिअरमा ११९५ खेल खेलएका छन्। जसमा जितको प्रतिशत ६१.६७ प्रतिशत छ। उनले रियल मड्रिड, म्यान्चेस्टर युनाइटेड र टोटनहमको प्रशिक्षकका रुपमा काम गरेका छन्।
