अहिले विश्वका फुटबलप्रेमी गहिरो शोकमा छन्। पोर्चुगल तथा इंग्लिस क्लब लिभरपुलका समर्थक भने अझ बढी पीडामा छन्।
बिहीबार बिहान स्पेनमा भएको कार दुर्घटनामा स्टार विंगर डिएगो जोटा र उनका भाइ आन्द्रेलाई गुमाउनु परेपछि फुटलबप्रेमी शोकमा परेका हुन्।
२८ वर्षको उमेरमा एउटा दुखद कार दुर्घटनाले उनको जीवन अन्त्य भयो, तर उनको फुटबल यात्रा, लिभरपुल र पोर्टुगलका लागि जित, र प्रेमको कथा सधैं जीवित रहनेछ। यो फिचरले उनको पूर्ण फुटबल करियर, व्यक्तिगत जीवन, र अनुपस्थितिको शोकलाई विस्तृत रूपमा प्रस्तुत गर्छ।
सपनाको शुरुआत
डिएगो जोटाको फुटबल यात्रा पोर्चुगलको मासारेलोस सहरमा ४ डिसेम्बर १९९६ मा जन्मसँगै सुरु भयो। नौ वर्षको उमेरमा गोनडोमार एससीमा प्रवेश गरेर उनले आफ्नो प्रतिभा देखाउन थाले। २०१२ मा पाकोस डि फेरियेरासमा स्थानान्तरण भएपछि २०१४ मा प्रोफेसनल डेब्यू गर्दा उनले पहिलो खेलमै गोल र असिस्ट गरे, जुन उनको करियरको पहिलो चमक थियो। यो शुरुआती सफलताले उनलाई ठूला मञ्चतिर डोर्यायो।
लिगा नोस र वोल्भ्समा उदय
२०१४ देखि २०१६ सम्म पाकोस डि फेरियेरासमा खेल्दै उनले ठूला क्लबहरुको ध्यानआफूतिर खिचे। त्यहाँ ६४ खेलमा १७ गोल गरेरका थिए। सोही प्रदर्शनपछि २०१६ मा एट्लेटिको म्याड्रिडले उनलाई अनुबन्ध गर्यो, तर नियमित अवसर नपाएपछि उनी इंग्लिस क्लब वुल्भ्समा आए।

त्यहाँ भने उनले आफ्नो प्रभाव जमाए । त्यहाँ २०१७–२० मा १३१ खेलमा ४४ गोल र १९ असिस्ट गरे। सन् २०१८मा वुल्भ्सलाई प्रिमियर लिगमा बढुवा गराउन उनको भूमिका महत्वपूर्ण थियो। उनको स्पिड र ड्रिब्लिङले इपिएलकै ठूला क्लबले उनीमाथि आँखा लगाएका थिए।
लिभरपुलमा सुनौलो क्षण, प्रिमियर लिगको विजेता
वुल्भ्समा उत्कृष्ट प्रदर्शन गरेपछि २०२० सेप्टेम्बरमा लिभरपुलले जोटालाई ४१ मिलियन पाउन्डमा अनुबन्भन ग¥यो। त्यसपछि जोटाको करिअर थप उचाईमा पुग्यो। उनले लिभरपुलका लागि पहिलो प्रिमियर लिग गोल आर्सनलविरुद्ध ३–१ को जितमा गरे। त्यसपछि उनले करिअरमा पछि फर्कनु परे । निरन्तर उकालो लाग्यो उनको करिअर।
२०२१–२२ सिजन उनको व्यक्तिगत करिअरको उत्कृष्ट रह्यो। सो सिजन उनल चार ह्याट्रिक गरे। उनले बर्नली, वाटफोर्ड, अटालान्टा, र बोर्नमाउथविरुद्ध ह्याट्रिक गरेका थिए। त्यसपछिका दुई सिजन चोटका सताइएका उनी यो सिजन लयमा फर्किएका थिए। यो सिजन लिभरपुलाई च्उाम्पियन बनाउनेक्रममा उनले १५ गोल र ८ असिस्ट गरेका थिए।

नेसन्स लिगको दोहोरो उपाधि
अन्तर्राष्ट्रिय फुटबलमा जोटाले पोर्टुगलको झन्डा उच्च राखे। २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका उनले सोही वर्ष नेसन्स लिगमा पोर्चुगलका लागि नेसन्स लिग जिते। यसै सिजन पनि उनले पोर्चगलबाट नेसन्स लिग जितेका थिए। फर्ममा रहे पछि जोटाले २०२२ को कतार विश्वकप भने चोटका कारण गुमाएका थिए। उनले पोर्चुगलका लागि ४९ खेल खेल्दै १४ गोल गरेका छन्।
विवाह र परिवार
जोटाको व्यक्तिगत जीवनमा प्रेमको एउटा गहिरो कथा छ। उनले लामो समयकी प्रेमिका रुते कार्डोसोसँग २२ जुन २०२५ मा विवाह गरे। विवाह अघि नै उनीहरुका तीन सन्तान थिए। तर, वैवाहिक जीवन भने १० दिनभन्दा बढी कायम रहन सकेन।
करिअरको उत्कृष्ट लयमा रहँदै अस्ताए
३ जुलाई २०२५ को बिहान, स्पेनको जामोरामा भएको कार दुर्घटनाले जोटाको जीवन अन्त्य गर्यो। उनी आफ्नो भाइ आन्द्रे सिल्भासहित लाम्बोर्गिनीमा यात्रा गर्दा टायर फुटेर भएको आगलागीमा उनीहरू दुवैले ज्यान गुमाए।

यो समाचारले लिभरपुल, पोर्टुगल, र विश्वभरका फुटबलप्रेमीलाई स्तब्ध बनायो। उनको मृत्युपछि लिभरपुलले अनफिल्डमा श्रद्धाञ्जली सभा आयोजना गर्यो, र पोर्टुगलले राष्ट्रिय झन्डा आधा झुकायो।
छोटो करिअरमै फुटबलमा पहिचान बनाउका जेटाको हाँसो, परिवारप्रतिको माया र फुटबलप्रतिको समर्पणले उनलाई सधैं जीवित राख्नेछ।
जोटा दाजुभाइप्रति हार्दिक श्रद्धासुमन ।
