युईएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्स र जर्मन क्बल बोरुसिया डर्टमन्डले रोमाञ्चक बराबरी खेलेका छन्। मंगलबार राति घरेलु मैदानमा भएको खेलमा इनजुरी समयमा २ गोल गरेपछि युभेन्ट्सले खेललाई ४–४को बराबरीमा ल्याएको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५२औं मिनेटमा करिम एडेइमीले गोल गर्दै डर्टमन्डलाई सुरुआती अग्रता दिलाए। ६३औं मिनेटमा केनन एल्डिजले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।
त्यसपछि फेलिक्स मेचाले गोल गर्दै डर्टमन्डलाई पुनः अग्रता दिलाए। तर, त्यसको दुई मिनेट पछि नै युभेन्ट्सले बराबरी गोल फर्कायो। ६७औं मिनेटमा उसका डुसान भ्लाहोभिचले गोल गरेका थिए।
त्यसपछि ७४औं मिनेटमामा यान कुटो गोल गर्दै डर्टमन्डलाई ३–१को अवस्थामा ल्याए। ८६औं मिनेटमा रामी बेन्सेबाइनीले गोल गरेपछि खेलमा ४–२ को अग्रतासहित डर्टमन्ड जित नजिक पुगेको थियो।
तर, इन्जुरी समयमा युभेन्ट्सले उत्कृष्ट पुनरागमन गरेको थियो। चौथो मिनेटमा भ्लाहोभिच र छैठौं मिनेटमा लोडी केलीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएका थिए।
यस्तै, अर्को खेलमा टोटनहमले भिल्लारियलमाथि १–०को जित निकाल्यो। घरेलु मैदानमा टोटनहमका लागि चौथो मिनेटमा लुइज जुनियरले आत्मघाती गोल गरेका थिए।
