बेल्जियन मिडफिल्डर केभिन डे ब्रुयनले म्यान्चेस्टर सिटीका लागि १ सय गोल गरेका छन्। शनिबार साँझ भएको खेलका क्रिस्टल प्यालेसविरुद्ध २ गोल गर्दै डे ब्रुयनले गोलको शतक पुरा गरेका हुन्।
डे ब्रुयनले सिटीका लागि ९ सिजन खेल्दै यो उपलब्धि हाँसिल गरेका हुन्। ९ सिजनमा उनले ३७२ गोल गरेका छन्।
सिटीबाट ९ सिजन खेल्दा डे ब्रुयनले ५ प्रियिमर लिग, १ च्याम्पियन लिगसहित कुल १५ उपाधि जितेका छन्।
डे ब्रुयनको २ गोलमद्दतमा सिटीले क्रिस्टल प्यालेसमाथि ४–२को जित निकाल्यो। उनीबाहेक सिटीका लागि रिको लेविस र अर्लिङ हालान्डले गोल गरे।
खेलमा अग्रता भने प्यालेसले लिएको थियो। तेस्रो मिनेटमा जेअन फिलिप माटेटाले गोल गरेका थिए। १३औं मिनेटमा डे ब्रुयनले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।
दोस्रो हाफको सुरुआतमै सिटीले अग्रता लियो। ४७औं मिनेटमा उसका रिको लेविसले गोल गरेका थिए। त्यसपछि ६६औं मिनेटमा हालान्ड र ७०औं मिनेटमा डे ब्रुयनले गोल गरेपछि सिटीले ४–१को अग्रता लियो। ८६औं मिनेटमा ओडसन इडोआर्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।
यो जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको लिभरपुलसँग समान ७० अंक भएपनि गोलअन्तरमा पछि रहँदै सिटी दोस्रो स्थानमा रहेको छ। एक खेल नै कम खलेको आर्सनल ६८ अंकसहित तेस्रो स्थानमा छ।