फ्रेन्च स्टार किलियन एम्बाप्पे आगामी सिजन स्पेनिस जायन्ट रियल मड्रिडमा १० नम्बरको जर्सीमा देखिएका छन्।
प्रिसिजनको तयारीमा रहेको रियलले केहीबेर अघि मात्र नयाँ सिजनका लागि एम्बाप्पेलाई १० नम्बरको जर्सी दिने घोषणा गरेको हो।
१० नम्बरको जर्सीमा युवा स्टार अर्डा गुलेरको नाम पनि चर्चामा थियो। तर, रियलले एम्बाप्पेलाई १० नम्बर दिने निर्णय गरेको हो।
यसअघि रियलमा १० नम्बरको जर्सी क्रोएसियन लिजेन्ड लुका मोड्रिचले लगाउँथे। ३९ वर्षीय मोड्रिचले फिफा क्लब विश्वकप लगत्तै रियल छाडेपछि रियलमा १० नम्बरको जर्सी खाली भएको हो।
यसअघि फ्रांक पुस्कास, फर्नान्डो हेइरो, मेसिउट ओजिल, रोविन्हो, बेस्ली स्नाइडरलगायतले रियलमा १० नम्बरको जर्सी लगाएका छन्।
अघिल्लो सिजन एम्बाप्पेले ९ नम्बरको जर्सी लगाएका थिए। डेब्यू सिजन नै उनले उलने ला लिगसहित युरोपियन गोल्डेनबुट जितेका छन्। उनले रियलबाट ५९ खेल खेल्दै ४४ गोल गरेका थिए।
