स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा रियललाई रायो भालेकानोले गोलरहित बराबरीमा रोकेको हो।
खेलमा रियलका किलियन एम्बाप्पे, भिनियसिपस जुयिनर, जुड बेलिङघमले गोलका लागि राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। यता, घरेलु मैदानमा भालेकानोले पनि काउन्टरमा अवसर अरु सिर्जना गरेको थियो। तर, उसका खेलाडीहरु पनि फिनिसिङमा चुके।
यता, अर्को खेलमा बार्सिलोनाले भने रोमाञ्चक जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा उसले सेल्टाभिगो माथि ४–२को जित निकाल्यो।
१०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलेनालाई सुरुआती अग्रता दिलाए। त्यसको एक मिनेट नबित्दै सर्जियो कारेराले सेल्टाका लागि गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।
त्यसपछि ३७औं मिनेटमा लेवान्डोस्कीले नै बार्सिलोनलाई पुनः अग्रता दिलाए। ४३औं मिनेटमा सेल्टाले खेललाई पुनः बराबरीमा ल्याए। उसका बोर्जा इग्लेसियसले गोल गरेका थिए। इन्जुरी सयमको चौथो मिनेटमा लमिन यमालले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३–२को अग्रता लियो।
दोस्रो हाफमा भने बार्सिलोना हावी भयो। ७३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गर्दै टिमलाई ४–२को अवस्थामा ल्याए। त्यसपछि गोल नहुँदा बार्सिलोना ४–२ले विजयी भयो।
खेलको अन्त्यमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका फ्रेङ्की डि योङले इन्जुरी समयको पाँचौं मिनेटमा रातो कार्डा पाएका थिए।
यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियलसँगको दुरी ४ अंकमा झारेको छ। १२ खेलमा रियलको ३१ र बार्सिलोनाको २८ अंक छ।
यो बराबरीसँगै शीर्ष स्थानको रियलले तालिकामा पाँच अंकको अग्रता बढाउने अवसर गुमाएको छ।
