धनगढीलाई हराउँदै ललितपुर लगातार दोस्रो पटक एनएसएलको फाइनलमा

19 Apr, 2025
Share:
117 Shares

ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ। शनिबार साँझ दशरथ रंगशालामा भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो।

ललितपुर लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो। अघिल्लो सिजन फाइनलमा धनगढीलाई नै हराउँदै ललितपुर च्याम्पियन बनेको थियो।

ललितपुरलाई जित दिलाउन केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेले गोल गरे भने धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरेका थिए।

खेलको सुरुआतै ललितपुर १० खेलाडीमा समेटिएको थियो। तर, त्यसको फाइदा धनगढीले उठाउन सकेन।

१६औं मिनेटमा ललितपुरका इनफर्म खेलाडी मणिकुमार लामाले रातो कार्ड पाएका थिए। मणिलाई धगनढीका खेलाडीले फाउल गरेपछि लडकै अवस्थामा मणिले उनलाई किक हानेका थिए। त्यसपछि रेफ्रिले मणिलाई रातो कार्ड दिएका थिए। अब उनले फाइनल गुमाउने छन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। तर, ५७औं मिनेटमा ललितपुरले खेलमा अग्रता लियो। बेलफोर्टले फ्रिकिकमा सिधै गोल गरेका थिए। त्यसको चार मिनेटपछि नै धनगढीले खेलालाई बराबरीमा ल्यायो।

उसका लागि जर्जप्रिन्सले गोल गरेका थिए। उनी मैदान प्रवेश गरेको केही सेकेन्डमै गोल गरेका हुन्।

त्यसपछि धनगढीले लगातार आक्रमण गरेको थियो। तर गोल भने गर्न सकेन। ७९औं मिनेटमा ललितपुरले पुनः खेलमा अग्रता लियो। उसका पापा इबोउले गोल गरेका थिए। त्यही अग्रतालाई अन्तिमसम्म कायम राख्दै ललितपुर लगातार दोस्रो पटक फाननलमा पुग्यो।

हारका बाबजुद धनगढीले फाइनल पुग्ने अर्को अवसर पनि पाउने छ। अब उसले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको एलिमिनेटर विजेतासँग खेल्ने छ।