फर्ममा रहेको बनमोथविरुद्ध लिभरपुलको जित, ब्राइटनको पोस्टमा फरेस्टले गर्यो गोलको वर्षा

2 Feb, 2025

इंग्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुलले बनमोथविरुद्ध २–० को जित हात पारेको छ। उत्कृष्ट फर्ममा रहेको बनमोथले आफ्नै घरेलु मैदानमा भएको खेलमा हार बेहोरेको हो।

लिभरपुलले विवादास्पद पेनाल्टीमार्फत् अग्रता लिएको थियो। कोडि ग्याक्पो आफ्नै खुट्टामा अल्झिएर डिबक्समा लड्दा लिभरपुलले पेनाल्टी पाएको थियो। भिडियो एसिस्टेन्ट रेफ्रि (भार)ले परिक्षण गरेर पनि लिभरपुललाई सो पेनाल्टी प्रदान गरेको थियो। मोहम्मद सलाहले सो पेनाल्टीलाई गोलमा परिवर्तन गरेर लिभरपुललाई अग्रता दिलाएका थिए।

लिभुरपुलका लागि दोस्रो गोल पनि सलाहले नै गरेका थिए। कर्टिस जोन्सको असिस्टमा उनले ७५औं मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाएका हुन्।

सो जितसँगै इपिएलको शीर्षस्थानमा रहेको लिभरपुलको २३ खेलमा ५६ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्सनलले समान खेलमा ४७ अंकमात्र जोडेको छ।

आर्सनलले अर्को खेल लयमा फर्किएको चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटिसँग खेल्दैछ। उपाधि होड कायम राख्न आर्सनलले सो खेल जित्नै पर्ने दवाब छ।

यस्तै, गएराति भएको अर्को खेलमा नटिङ्घम फरेस्टले ब्राइटनलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ। अघिल्लो साता बनमोथसँग ५–० ले पराजित भएको फरेस्टले सो हारको बदला ब्राइटनसँग लिन सफल भयो। ब्राइटनका लेविस डङ्कको आत्मघाती गोलमा फरेस्टले अग्रता लिएको थियो। फरेस्टलाई विशाल गोलअन्तरको जित दिलाउन क्रिस उडले ह्याट्रिक गरे भने गिब्स ह्वाइट, नेको विलियम्स र जोटा सिल्भाले समान १–१ गोल गरेका थिए।

यसैगरी, एभर्टनले पनि लेसेस्टर सिटिलाई ४–० ले पराजित गरेको छ। प्रशिक्षक डेभिड मोयेस आएपछि एभर्टन उत्कृष्ट लयमा देखिएको हो। एभर्टनका लागि बेटोले दुई गोल गरे भने डुकुरे र एन्डिआयेले समान १ गोल गरेका थिए।

रेलिगेसनमा जुधिरहेको साउथह्याम्पटनले पनि अर्को रेलिगेशनको खतरामा रहेको इप्स्विच टाउनलाई पराजित गरेको छ। साउथह्याम्प्टनले २–१ गोलअन्तरले जित निकालेको हो। यस्तै, वुल्भ्सले पनि एस्टन भिल्लालाई पराजित गरेको छ। खराब लयबाट गुज्रिरहेको भिल्ला २–० ले पराजित भयो।

पछिल्ला केही खेलयता राम्रो लय समातेको न्युक्यासल युनाइटेड भने आफ्नै घरमा पराजित भएको छ। न्यूक्यासलको चुनौती फुलह्यामले २–१ गोलले पाखा लगाएको हो। न्यूक्यासलले पहिलो हाफमा ज्याकव मर्फिको गोलबाट अग्रता लिएको थियो। तर, दोस्रो हाफमा राउल जिमेनेज र रोड्रिगो म्युनिजले गोल फर्काएपछि फुलह्याम पुनरागमन जित हात पार्न सफल भयो।