आर्सनल, लिभरपुल र बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६मा, रियल, सिटी, बायर्न र पिएसजीले भने प्लेअफ खेल्नुपर्ने

30 Jan, 2025

नयाँ फम्र्याटको च्याम्पियन्स लिगको समूह चरणका अन्तिम खेलहरु सकिएका छन्। बुधबार राती नेपाली समयअनुसार १ः४५ बजे समूहचरणका १८ खेलहरु एकैपटक खेलाइएका थिए। च्याम्पियन्स लिगमा एकै समयमा यति धेरै खेल भएको यो पहिलोपटक हो।

समूहचरणको शीर्ष स्थानमा रहँदै लिभरपुल, बार्सिलोना र आर्सनलले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेका छन्। इन्टर मिलान, एट्लेटिको मड्रिड, बायर लेभरकुसेन, लिल्ले र एस्टन भिल्लाले पनि समूह चरणको शीर्ष ८ मा रहँदै अन्तिम १६ मा प्रवेश गरेका छन्।

समूह चरणको अन्तिम खेलमा लिभरपुल आइन्डहोभनसँग ३–२ गोलअन्तरले पराजित भएपनि समूह चरणको शीर्षस्थानमा रहँदै अन्तिम चरणमा प्रवेश गर्न सफल भएको हो। लिभरपुलले समूह चरणमा बेहोरेको यो एकमात्र हार हो। बार्सिलोनाले पनि एट्लान्टासँग २–२ गोलको बराबरीका बावजुद अन्तिम १६ मा स्थान पक्का गरेको हो। लिभरपुलले

आर्सनलले भने जिरोनालाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गर्दै समूह चरणमा तेस्रो रहँदै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ। आर्सनलका लागि जोरजिन्हो तथा १७ वर्षिय इथन न्वानेरीले सानदार गोल गरेका थिए। सोही खेलबाट च्याम्पियन्स लिगमा डेब्इु गरेका न्वानेरी प्रतियोगितामा गोल गर्ने सबैभन्दा दोस्रो कान्छा वेलायती खेलाडी पनि बन्न सफल भए।



यसैगरी च्याम्पियन्स लिगका केही हस्ति क्लबहरुले भने अन्तिम १६ मा स्थान बनाउन सकेनन्। डिफेन्टिङ च्याम्पियन तथा सर्वाधिक च्याम्पियन्स लिग जित्न सफल टिम रियल मड्रिड समूह चरणमा ११औं भएपछि अन्तिम १६ मा पुग्नबाट बञ्चित भएको हो। बायर्न म्युनिख १२औं, पिएसजी १५औं, युभेन्टस २०औं र म्यानचेस्टर सिटी २२औं हुँदा सोझै अन्तिम नकआउट चरण पुग्न असमर्थ भए। यी लगायत कुल १६ टिमले प्लेअफ खेल्ने छन्।

रियल मड्रिडले ब्रेस्टलाई ३–० ले पराजित गर्दै प्लेअफ खेल्ने मौका पाएको हो। यस्तै, म्यानचेस्टर सिटीले पनि क्लब ब्रुग्गेलाई ३–१ ले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको थियो। बायर्नले स्लोभान ब्रातिस्लाभालाई ३–१ र पिएसजीले स्टुटगार्टलाई ४–१ ले पराजित गरेको थियो।

च्याम्पियन्स लिगको नयाँ फम्र्याट अनुसार समूह चरणमा शीर्ष ८ मा रहने टोलीले सोझै अन्तिम १६ मा स्थान पक्का गर्नेछ भने ९औं बाट २४औं स्थानमा रहने टिमले प्लेअफ खेल्न पाउनेछन्। प्लेअफ खेल्ने १६ मध्ये ८ टिम अन्तिम १६ मा पुगेपछि प्रिक्वार्टरफाइनलको समिकरण पूरा हुनेछ।

प्लेअफ खेल्ने अन्य टिमहरुमा डर्टमन्ड, एसी मिलान, पिएसभी, बेन्फिका, मोनाको, ब्रेस्ट, फेयोनोर्ड, सेल्टिक, स्पोर्टिङ र क्ल्ब ब्रुग्गे रहेका छन्।