इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेको लिभरपुल विजयी भएको छ। आइतबार साँझ एन्डफिल्डमा भएको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले ब्राइटनमाथि २–१को जित निकाल्यो।
यो पुनरागमन जितसँगै लिभरपुल आर्सनललाई पछि पादैै लिगको शीर्ष स्थानमा उक्लिएको छ। उसको २९ खेलमा ६७ अंक छ। यता, एक खेल कम खेलेको आर्सनलको ६४ अंक छ।
लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले गोल गरे भने ब्राइटनका लागि ड्यानी वेलब्याकले गोल गरे।
दोस्रो मिनेटमै वेलब्याकले ब्राइटनलाई सुरुआती अग्रता दिलाए। २७औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए।
पहिलो हाफ १–१को बराबरीमै सकियो। ६५औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा लिभरपुल विजयी भयो।