जब लुका मोड्रिचले सान्टियागो बर्नाबेउमा बल बोकेर मिडफिल्डमा नाच्छन्, फुटबल कला बन्छ। यो ३९ वर्षीय क्रोएसियाली मिडफिल्डर रियल म्याड्रिडको हृदय र आत्मा हुन्। उनले २०१२ मा टोटनहमबाट रियल आएदेखि ६ च्याम्पियन्स लिग, ४ ला लिगासहित २६ उपाधि र व्यक्तिगत उपाधिका रुपमा २०१८ को बलोन डी’ओर जितेका छन्।
यिनै मिडफिल्ड माइस्ट्रो अर्थात् रियलका ‘रियल हिरो’ मोड्रिच भोलि अन्तिम पटक बर्नाबेउको मैदानमा देखिने छन्। उनले बिहीबार मात्रै सिजन सकिएसँगै रियल छाड्ने घोषणा गरेका थिए। त्यसैले आज बर्नाबेउमा हुने रियल सोसिडाडविरुद्धको खेल उनका लागि रियलको अन्तिम खेल हुनेछ।
रियल छाड्ने घोषणाले एक युगको अन्त्य भएको छ, तर उनको प्रभाव र कासेमिरो–टोनी क्रुससँगको मिडफिल्ड जादू सधैं अमर रहनेछ।
रियलमा मोड्रिचको प्रभाव
लुका मोड्रिच २०१२ मा टोटनहमबाट रियल म्याड्रिड आउँदा धेरैले उनलाई ‘सामान्य मिडफिल्डर’ मानेका थिए। तर, उनले आफ्नो रचनात्मक पास, सटीक भिजन र खेल नियन्त्रणले रियलमा मात्र होइन, विश्व फुटबलमा प्रभाव जमान सफल रहे।
उनले रियलका लागि ५३२ खेलमा ३९ गोल र ८६ असिस्ट गरेका छन्। यो तथ्यांक औसात खलाडीको भन्दा सामान्छ लाग्छ, तर उनको प्रभाव तथ्यांकभन्दा धेरै गहिरो छ। उनको शान्त नेतृत्व, ठूला खेलमा चमक, र ९०औँ मिनेटमा पनि थकान नदेखाउने ऊर्जा नै पछिल्लो दशकमा रियलको सफलताको मुख्य कारक छ। २०१८ मा उनले क्रोएसियालाई विश्वकप फाइनलमा पुर्याए। सोही वर्ष उनले बलोन डी’ओर जित्दै मेस्सी–रोनाल्डोको दबदबा तोडेका थिए।
समर्थकहरू मोड्रिचलाई रियलको आत्मा ठान्छन्। र, उनको ‘कि मोमान्टको कि’ पासलाई लगायत्मक कविता जस्तै ठान्छन्। साँच्चै मोड्रिच छन् पनि त त्यस्तै।
मोड्रिचले रियललाई २०१४–२२ को स्वर्णिम युगमा नेतृत्व गरे। २०१६–१८ मा लगातार तीन च्याम्पियन्स लिग जित्दा उनको भिजन र पासले रोनाल्डो र बेललाई गोलको बाटो देखाएको थियो।

२०२२ मा पेरिस सेन्ट जर्मेनविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलमा उनको स्लाइडिङ ट्याकल र असिस्टले खेल पल्टायो, जुन रियलको १४औँ च्याम्पियन्स लिग उपाधिको आधार बन्यो। र, त्यो खेल समर्थकको मानसपटलमा अझै ताजै छ। ‘लुका मिडफिल्डको मोजार्ट हुन्, उनले खेललाई संगीतमय बनाउँछन्,’ मोड्रिचको प्रशंसा गर्दै प्रशिक्षक कार्लो एन्सेलोटी भनेका छन्।
कासेमिरो, क्रुस, र मोड्रिच : मिडफिल्डको स्वर्णिम युग
मोड्रिचको सफलताको ठूलो हिस्सा कासेमिरो र टोनी क्रुससँगको मिडफिल्ड कम्बिनेसन पनि हो। यो त्रिकोण (२०१४–२२) विश्व फुटबलको सबैभन्दा प्रभावशाली मिडफिल्ड युनिट मानिन्छ। कासेमिरोको रक्षात्मक शक्ति, क्रुसको सटीक पास र मोड्रिचको रचनात्मकताले रियलले हरेक प्रतियोगितामा दबदबा कामय गरेको थियो।
कासेमिरो : ब्राजिलियन डिफेन्सिभ मिडफिल्डर (२०१३–२२ मा रियलमा)ले ३३६ खेलमा ३१ गोल र २९ असिस्ट गरेका छन्। उनको ट्याकल, बल खोस्ने क्षमता, र ठूला खेलमा गोलले रियलको मिडफिल्डलाई सन्तुलन दिएको थियो। उनले मोड्रिच र क्रुसलाई आक्रमणमा स्वतन्त्रता दिएका थिए।
टोनी क्रुस : जर्मन मास्टर क्रुसले २०१४–२४बीचमा रियलका लागि ४६५ खेलमा २८ गोल र १०१ असिस्ट गरेका छन्। उनको ९० प्रतिशत पास सटीकता र लङ रेञ्ज पासले रियलको खेल निर्माणको आधार बनाउँथ्यो। २०२२ च्याम्पियन्स लिग फाइनलमा लिभरपूलविरुद्ध उनले भिनिसियस जुनियरलाई उपलब्ध गराएको त्यो पासले रियललाई च्याम्पियन बनाएको थियो।
कम्बिनेसन यो त्रिकोणले ५ च्याम्पियन्स लिग (२०१४, २०१६–१८, २०२२), ३ ला लिगा (२०१७, २०२०, २०२२), र २ कोपा डेल रे (२०१४, २०२३) जितेको छ। उनीहरूको समन्वयले रियललाई म्यानचेस्टर सिटी (२०२२) र बायर्न म्युनिख (२०१८) जस्ता बलिया टोलीविरुद्ध जित दिलायो। २०१६ च्याम्पियन्स लिग फाइनलमा एट्लेटिको म्याड्रिडविरुद्ध कासेमिरोको ट्याकल, क्रुसको पास, र मोड्रिचको असिस्टले रोनाल्डोको सम्भव भएको थियो। जुन यो त्रिकोणको उत्कृष्ट उदाहरण हो।

रियल छाड्ने घोषणा : एक युगको अन्त्य
मे २२, २०२५ मा मोड्रिचले रियल म्याड्रिड छाड्ने घोषणा गरेका छन्। मोड्रिचले १३ वर्षमा रियलको इतिहासमा सबैभन्दा धेरै ट्रफी (२६) जित्ने खेलाडी बनेका छन्। उनको बिदाइले कासेमिरो र क्रुस पछिको स्वर्णिम मिडफिल्ड युगको पूर्ण अन्त्य भएको छ। तर, उनले युवा खेलाडीहरू (बेलिङ्घम, कामाभिंगा, भाल्भर्डे) लाई प्रेरित गरेर रियलको भविष्य बलियो बनाएका छन्।
मोड्रिचको बाल्यकाल क्रोएसियाको युद्धले ग्रस्त थियो। ६ वर्षको उमेरमा उनको दादाको हत्या भयो, र उनको परिवार रिफ्युजी क्याम्पमा बस्न बाध्य भयो। होटलको पार्किङमा फुटबल खेल्दै उनले आफ्नो सीप निखारे। यो कठिन यात्राले उनलाई विनम्र र दृढ बनायो।
०००
लुका मोड्रिच रियल म्याड्रिडको मिडफिल्ड जादूगर हुन्, जसले कासेमिरो र क्रुससँग मिलेर फुटबलको स्वर्णिम युग रचे। ५३२ खेल, २६ उपाधि, र अनगिन्ती अविस्मरणीय क्षणहरूले उनलाई रियलको इतिहासको सबैभन्दा महान खेलाडी बनाए।
उनको रियल छाड्ने घोषणाले प्रशंसकहरूलाई भावुक बनाएको छ, तर उनको प्रभाव सधैं सान्टियागो बर्नाबेउमा गुञ्जिनेछ।
बर्नाबेउमा केहीबेरपछि समर्थकहरूले मिडफिल्ड माइस्ट्रो अर्थात प्रिय मोड्रिचलाई ‘लुका, ग्रासियस’ भन्दै बिदाइ गर्नेछन्। (एजेनसीहरूकाे सहयाेगमा)