विश्व फुटबलका सुपरस्टार र क्रोएशियाली मिडफिल्ड मायस्ट्रो लुका मोड्रिचले रियल म्याड्रिड छाड्ने घोषणा गरेका छन्। ३९ वर्षीय मोड्रिचले बिहीबार सामाजिक सञ्जालमामार्फत सिजनको अन्त्यसँगै रियल छाड्ने घोषणा गरेका हुन्।
आधुनिक फुटबलको सर्वश्रेष्ठ मिडफिल्डरहरू मध्ये एक मानिन्छ, सन् २०१२ मा टोटनहम हट्स्परबाट रियल म्याड्रिडमा आबद्ध भएदेखि क्लबको गौरवशाली इतिहासको अभिन्न हिस्सा बनेका छन्। उनको बिदाइले रियल म्याड्रिड र विश्व फुटबलमा एउटा युगको अन्त्य भएको संकेत गर्छ।
शनिबार बर्नाबेउमा हुने रियल सोसिडाडाविरुद्धको खेल उनको अन्तिम तथा बिदाई खेल हुनेछ।
रियल छाड्ने घोषणा गर्दै मोड्रिचले रियल आफ्नो दोस्रो घर भएको बताएका छन्। यहाँ जितको प्रत्यके उपािध आफूलाई गर्व र खुसीले भरिएको बताएका छन। उनले भनेका छन्, ‘यो क्लब, यो शहर, र यहाँका प्रशंसकहरू सधैं मेरो मनमा रहनेछन्। म यहाँबाट धेरै सम्झनाहरू बोकेर जाँदैछु, तर यो बिदाइको समय हो। म सधैं रियलको समर्थक रहनेछु।’
मोड्रिचको रियल म्याड्रिडमा बिताएको १३ वर्षको यात्रा उपलब्धिहरूको पर्याय हो। रियलबाट ६ युइएफए च्याम्पियन्स लिग, चार ला लिगा उपाधि, ५ सुपर कोपासहित कुल २८ उपाधि जितेका छन्। यी उपाधिमा उनको भूमिका महत्वपूर्ण छ। सन् २०१८ मा उनले ब्यालेन डीुओर जितेर क्रोएशियाली फुटबलरको रूपमा ऐतिहासिक कीर्तिमान रचेका छन्।

मोड्रिचले रियल छाड्ने पक्का भएसँगै उनको अर्को गन्तव्यबारे अड्कलबाजी तीव्र भएको छ। केही स्रोतहरूले उनले क्रोएशियाको आफ्नो पुरानो क्लब डिनामो जाग्रेबमा फर्कने सम्भावना रहेको बताएका छन्। तर उनी उदी प्रो लिग, र अमेरिकाको मेजर लिग सकर सम्भावन पनि उत्तिकै रहेको बताएका छन्। आगामी विश्वकपसम्म उनी फुटबल करिअर जारी गर्ने सोचमा छन्।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि मोड्रिचको योगदानको उच्च प्रशंसा गरेका छन्। उनले भने, ‘लुका मोड्रिच रियल म्याड्रिडको इतिहासमा सधैं स्वर्णिम अक्षरले लेखिनेछन्। उनको समर्पण, नेतृत्व, र प्रतिभाले हामीलाई सधैं प्रेरणा दिनेछ।’
०००
लुका मोड्रिचको रियल म्याड्रिडबाट बिदाइले फुटबल इतिहासको एक स्वर्णिम अध्यायको अन्त्य गरेको छ। उनको रचनात्मकता, नेतृत्व, र मैदानमा देखाएको जादुले विश्वभरका प्रशंसकहरूलाई प्रेरित गरेको छ। उनको अर्को कदम जे भए पनि, मोड्रिचको विरासत रियल म्याड्रिड र फुटबल जगतमा सधैं जीवित रहनेछ।
प्रशंसकहरू अब उनको अन्तिम खेललाई सान्टियागो बर्नाबेउमा भावुक बिदाइ दिन उत्सुक छन्।
