घरमै सिटीको लज्जास्पद हार, आर्सनल र चेल्सी विजयी

24 Nov, 2024

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ। शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहमले ४-०ले हरायाे।

टोटनहामको जितमा जेम्स माडिन्सन दुई गोल गरे भने पेड्रो पोरो र ब्रेनान जोनसोनले गोल गरे। दुवै हाफमा समान दुई गोल भए।

खेलको १३औं मिनेटमा म्याडिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए। २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५२औं मिनेटमा पोरोले गोल गर्दै टोटनहामलाई ३-० को अग्रता दिलाउँदा इन्जुरी समयमा जोनसोनले गोल गरेपछि टोटनहाम ४–० ले विजयी भयो ।

याे हारपछि पिन सिटी १२ खेलमा २३ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ भने एक खेल कम खेलेको शीर्षस्थानको लिभपरपुलसँग ५ अंकको दूरी भइसकको छ। जितपछि टोटनहाम भने १९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ।

जारी सिजन सिटीको यो लगातार पाँचौं हार हो। याे प्रशिक्षक पेप ग्वार्डिओलाकाे करिअरकै खराब प्रदर्शन हाे।

यस्तै अन्य खेलमा खेलहरूमा आर्सनल र चेल्सी विजयी भएका छन्। आर्सनलले नोटिङहाम फरेस्टलाई ३-० ले हराउँदा चेल्सीले लेस्टर सिटीलाई २-१ ले हरायो ।

आर्सनलको जितमा बुकायो साका, थोमस पार्टे र इथान न्वानेरीले १-१ गोलको योगदान गरे । जितसँगै आर्सनल १२ खेलमा २२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । नोटिङहाम १९ अंकसहित सातौं स्थानमा छ ।

त्यस्तै चेल्सीको जितमा निकोलस ज्याकसन र एन्जो फर्नान्डेजले एक(एक गोल गरे । लेस्टरका जोर्डन आयूले पेनाल्टीमार्फत गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन ।

जितपछि चेल्सी १२ खेलमा २२ अंकसहित तेस्रो स्थानमा छ भने १० अंक मात्र जोडेको लेस्टर १६औं स्थानमा छ ।