सिटी र आर्सनलले खेले बराबरी

23 Sep, 2024

इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र आर्सनलले बराबरी खेलेका छन्। आइतबार राति सिटीको मैदान इत्तिहादमा भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा अग्रता सिटीले लियो। ९औं मिनेटमा साभिन्होको पासमा हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। योसँगै उनले सिटीका लागि १ सय गोल पनि पुरा गरेको छन्। १०५ खेलमा १ सय गोल गरेका हालान्डा युरोपियन क्लबका सर्वाधिक छिटो सय गोल गर्ने रोनाल्डोलको कीर्तिमान बराबरी गरेका छन्।

२२औं मिनेटमा रिकार्डो कालाफियोरीले ग्याब्रिअल मार्टिनेलीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि पहिलो हाफकै इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियलले गोल गर्दै आर्सनललाई खेलमा अग्रता दिलाए।

इन्जरी समयकै आठौं मिनेटमा लियान्द्रो ट्रोसार्डले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो। त्यसपछि भने खेलमा सिटी पूर्ण रुपमा हावी भएको थियो। तर, सिटीलाई गोल गर्न भने निकै कठीन परेको थियो। पूर्ण रुपमा डिफेन्सिभ भएको आर्सननका लागि गोलकिपर डेविड रायाले उत्कृष्ट बचाउहरु गरेका थिए।

तर, दोस्रो हाफको इन्जुरुी समयको आठौं मिनेटमै सिटीले बराबरी गोल फर्कायो। सिटीका जोन स्टोनिसले गोल गरेका थिए।

खेलम सिटीले ७८ प्रतिशत बल पोजेज बनाउँदै आर्सनलको पोस्टमा ३३ सट प्रहार गर्दा ११ सट फ्रेममा थियो। यता, आर्सनलले ५ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो। दोस्रो हाफमा आर्सनलको बल पोजेसन १२.५ प्रतिशत मात्र थियो।

यो बराबरीपछि ५ खेलमा १३ अंक जोड्दै सिटी शीर्ष स्थानमा छ भने आर्सनल ११ अंकसहति चौथो स्थानमा छ। समान १२ अंक जोडेका लिभरपुल र एस्टनभिल्ला दोस्रो र तेस्रो स्थानमा छन्।