प्रिसिजन टुरको पहिलो खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी पराजित भएको छ। बुधबार बिहान अमेरिकाको नर्थ क्यारोलिनमा भएको ७ गोल थ्रिलर खेलमा सिटी स्कटिस क्लब सेल्टिकसँग ४–३ले पराजित भयो।
सेल्टिकका लागि निकोलस गेरिट कुनले २ तथा क्योगो फुरुहसी र लुइस पाल्माले गोल गरे। सिटीका ओस्कार बब, म्याक्सिमो पेरोने र अर्लिङ हालान्डले गोल गरेका थिए।
खेलमा अग्रता पनि सेल्टिकले लियो । उसका कुनले १३औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। ३३औं मिनेट बबले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। तर, ३६ औं मिनेटमा कुनले फेरि गोल गर्दै टिमलाई अग्रता दिलाए।
४४औं मिनेटमा फुरुहसीले गोल गरेपछि सेल्टिकले ३–१को अग्रता लियो। तर, दोस्रो हाफको सुरुआतमै सिटीले गोल फर्कायो। ४६औं मिनेटमा उसका पेरोनोले गोल गरेका थिए। ५७औं मिनेटमा हालान्डले गोल गरेपछि खेल ३–३को बराबरीमा आयो।
लुइस पाल्माले ६८औं मिनेटमा गोल गर्दै सेल्टिकलाई पुनः अग्रता दिलाए। त्यसपछि गोल नहुँदा सेल्टिक विजयी भयो।
अब सिटीले अमेरिकामै एसी मिलान, बार्सिलोना र चेल्सीसँग तीन अभ्यास खेल खेल्नेछ।