रुबेन अमोरियमको टिम म्यान्चेस्टर युनाइटेडले प्रियिमर लिगको सुरुआत हारबाट गरेको छ। आइतबार राति भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि युनाइटेड घरेलु मैदानमा आर्सनलसँग १–०ले पराजित भयो।
खेलमा आर्सनलका लागि रिकार्डो कालाफियोरीले निर्णायक गोल गरे। उनले १३औं मिनेटमा डेक्लन रइसको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए।
खेलमा सुरुआत मै पछि परेको युनाइडेटले आर्सनलमाथि निरन्तर दबाब बनाएको थियो। तर, आर्सनलका गोलकिपर डेविड रेयाले उत्कृष्ट बचाउ गर्दै टिमलाई जित दिलाए। खेलमा उनले ७ सेभ गरेका थिए।
६२ प्रतिशत बल पोजेसन बनाएको युनाइटेडले २२ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो। यता, आर्सनलले ९ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो। युनाइटेडका लागि डेब्यू खेलाडीहरु म्याथुस कुन्हा र बायर्न बेउमोले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
यता, ठूलो रकम खर्चिर भित्र्याएका स्ट्राइकरहरु आर्सनलका भिक्टर ग्योकेरेस र युनायटेडका बेन्जामिन सेस्को भने खेलमा फिका देखिएका थिए। ग्योकेरेस पहिलो रोजाईमै थिए भने सेस्को दोस्रो हाफमा मैदान छिरेका थिए।
यस्तै, अर्को खेलमा चेल्सी रोकिएको छ। उसलाई क्रिस्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको हो। अर्को खेलमा नटिङ्हम फरेस्टले ब्रेन्टफोर्डमाथि ३–१को जित निकाल्यो।
