मुख्य प्रशिक्षक म्याट रोस भन्छन्– खेलाडी उत्कृष्ट छन्, उनीहरुको खेल हेर्न उत्साहित छु

19 Mar, 2025

दुई साताअघि मात्र नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त म्याट रोसले सिंगापुर र मलेसियासँगको खेल मार्फत प्रशिक्षणको यात्रा थालनी गर्दैछन्।

सिंगापुर र मलेसिया भ्रमणका लागि टिमलाई बिदाई गर्न आयोजिक कार्यक्रममा प्रशिक्षक रोसले नेपालमा धेरै राम्रो खेलाडीहरु भएका कारण छनोटको क्रममा समस्या भएपनि सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको बताए।

खेलाडीहरुले कस्तो खेल्छन् भनेर हेर्न उत्साहित रहेको भन्दै उनले नेपाली टोलीलाई नेतृत्व गर्ने सपना पूरा भएको बताए।

‘खेलाडीहरुको प्रस्तुती, प्रतिबद्धता एकदमै राम्रो छ । तालिम दिने बेला कुनै पनि खालको समस्या भएन । नेपालमा धेरै राम्रो खेलाडीहरु छन्, त्यही कारण छनोटको क्रममा भने समस्या भएको थियो,’ उनले भने, ‘अहिले सबैमध्ये उत्कृष्ट खेलाडीहरु छनोट गरेको छु । हाललाई धेरै प्रेसर महशुस गरेको छैन् । तर म उत्साहित छु।’

उनले परिणामको बारेमा अहिले भन्न सकिने अवस्था नभएपनि बलियो र सकरात्मक भएर मैदान उत्रने बताए।

नेपालले यही मार्च २१ मा सिंगापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल मलेसियासँग मार्च २५ मा मलेसियामै खेल्नेछ।

रोसले सिंगापुर र मलेसियाका लागि २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । यस पटक गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी तीन नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।