स्कटिस क्लबमा नेपाली मुलकी मेलिसा रेग्मी

17 Nov, 2024

नेपाली मुलकी युवा फुटबलर मेलिसा रेग्मी स्कटल्यान्डको क्लबमा आबद्ध भएकी छिन्। १५ वर्षीया मेलिसा यू–१७ एकेडेमीका लागि एबरडिन क्लबमा आबद्ध भएकी हुन्।

उनको परिवार लामो समयदेखि एबरडिनमै बस्दै आएको छ। उनी त्यहीँको निजी स्कुलमा एसथ्री लेभलमा अध्ययनरत छिन्। एबरडिनकै यू–११ र यू–१६ बाट खेलिसकेकी छिन्।

एबरडिनको यू–१६ एकेडेमी प्रोग्रामकी पहिलो खेलाडी मेलिसा स्ट्राइकर हुन्।

मेलिसा स्कटल्यान्डको यू–१५ महिला टिममा छनोट भएकी छन् । मेलिसाको टोलीले वेल्सविरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त खेलमा मेलिसाले ह्याट्रिक 
गर्दै ‘प्लेयर अफ दि म्याच’ बनेकी थिइन् । मेलिसा स्कटल्यान्ड महिला यू–१६ प्रशिक्षण शिविरका लागि दुई पटक छनोट भइसकेकी छिन्।

उनले एएफसीएल क्लब र एफसी वुमनमा अन्डर–१६ खेल्दा उनी अन्डर–१८ पनि खेलेकी छिन्। दुवै उमेर समूहको उनको टिम च्याम्पियन बनेको थियो।

एबरडिन महिला फुटबल क्लब स्कटल्यान्डस्थित महिला फुटबलको शीर्ष स्कटिस महिला प्रिमियर लिग १ मा प्रतिस्पर्धा गर्छ । मेलिसाको यू–१७ एकेडेमी टोलीले नेक्स्ट जेनरेसन लिगमा प्रतिस्पर्धा गर्नेछ।

एबरडिन त्यही क्लब जहाँ म्यान्चेस्टर युनाइटेड आउनुअघि एल एलेक्स फर्गुसन प्रशिक्षक थिए।

मेलिसा नेपाली विशेषतः नेपाली महिला फुटबललाई पनि फलो गर्छिन्। उनी नेपाल राष्ट्रिय टिमबाट खेल्ने चाहना भएको बताउँछिन्। पढाईका कारण तत्काल त्यो सम्भव नभएपछि भविष्यमा नेपालबाट खेल्ने उनको चाहना छ।